mahara

समृद्धिका लागि सांस्कृतिक एकता आवश्यक छ – सभामुख

दाङ २ चैत । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले मुलुकको समृद्धिका लागि भाषिक, सांस्कृतिक एकता आवश्यक रहेको बताउनुभएको छ । मगर भाषा, साहित्य तथा सांस्कृतिक प्रतिष्ठान दाङले शनिबार घोराहीमा आयोजना गरेको मगरात सांस्कृतिक भेषभुषा प्रतियोगीताको उद्घाटन गर्दै सभामुख महराले भन्नुभयो, ‘सबै भाषा, संस्कृतिको एकताबाट मात्रै मुलुक समृद्ध बन्ने हुँदा यसतर्फ सबैको ध्यान पुग्नुपर्दछ । समाजका अगुवाहरुले एकता खलबलिन दिनुहुँदैन ।’

नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख महराले सबै संस्कृतिले विकसित हुने मौका पाउनुपर्ने बताउनुभयो । मुलकको परिवर्तनका लागि यहाँका सम्पूर्ण जाति र समुदायको संघर्ष र बलिदानी रहेको उल्लेख गर्दै सभामुख महराले परिवर्तित सन्दर्भमा राज्यले सबै जाति, भाषा र संस्कृतिको संरक्षणका लागि नीति बनाउनुपर्ने बताउनुभयो । ‘मुलुकको परिवर्तनका लागि सबै जाति, भाषा र सांस्कृतिक समुदायले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । परिवर्तित अवस्थामा राज्यले सबै भाषा, धर्म, जाति र संस्कतिको संरक्षणका लागि विशेष योजना बनाउनुपर्दछ’, सभामुख महराले भन्नुभयो, ‘राज्यका तीनवटै सरकारले सांस्कृति एकता कायम गर्नतर्फ विशेष योजना बनाउनुपर्दछ ।’

प्रतिनिधि सभा कानुन निर्माणको चरण रहेको बताउँदै सभामुख महराले अबको केही समयमै सम्पूर्ण कानुनहरु बनाइसक्ने बताउनुभयो । विभिन्न विषयगत समितिहरु गृहकार्यमा जुटिरहेको बताउँदै सभामुख महराले कानुनको अभावमा सरकार सञ्चालन गर्न समस्या उत्पन्न भयो भन्ने गुनासो सुन्न नपर्ने बताउनुभयो । ‘प्रतिनिधि सभाले कानुन निर्माणको क्रमलाई तीब्र बनाउँदै लगेको छ । सरकार सञ्चालनका लागि कानुन नभएन भन्ने गुनासा नआउने गरी हामी लागि परेका छौं’, सभामुख महराले भन्नुभयो, ‘तीन वटै सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण भइरहेका छन् । अबको केही समयमै सम्पूर्ण कानुन निर्माण भइसक्छन् ।’

घोराही उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको भेषभुषा प्रतियोगीताले सम्पूर्ण संस्कृतिलाई जोड्नेमा विश्वास लिएको बताउँदै सभामुख महराले प्रतियोगीताका लागि १ लाखको अक्षयकोषको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगीतामा साविक राप्ती अञ्चलका सम्पूर्ण जिल्लाका युवा युवतिहरुको सहभागीता रहेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*