ritu khanal

मनकी चरी बिचरी 

रितु खनाल

थुङ्गाबीच पसेर दुष्ट भँवरो डस्दैछ खै के गरी

बढ्दै जान्छ नि आर्तनाद मनको छाती दुखी बेसरी 
हे! प्यारा बहको मसी हृदयमा मथ्दा मदानी भई
सुख्खा छन् मनका गरा कति तिमी बन्छौ अझै निर्दयी।१
*
डुब्दैथ्यौँ जब आँसुमा रह भरी हामी छुटेका दिन
काँडाझैँ मुटुमा कठै! कुसुमले घोच्दा बुझेनौ किन
बग्दैथे म त प्रेम सागरसँगै छाडी गयौ के लिन
यो मेरो मुटुमा गढेर खिल झैँ रोपेर हिँड्ने चिन।२
*
चुम्छन् छेउ बसेर याद चुचुरा आकाशझैँ सम्झना
फक्रेका वनफूल तुल्य पिरती, तिम्रा मिठा सिर्जना
कालो गाजलझैँ तिमी नयनमा गाढा भयौ निस्ठुरी
माया प्रेम सदा भरेर दिलमा टाढा भयौ सुस्तरी ।३
*
यो मेरो तन तापले गलिदियो नौनी गलेकोसरि
यो मेरो मन रापले बलिदियो आगो बलेकोसरि
मेरै हौ रितु, हौ तिमी प्रियतमा भन्थ्यौ मिठी उर्वशी
एक्लै दूर गयौ तिमी विरहमा मारी छिटै बुर्कुसी।४
*
स्वप्नाभित्र म सोचमा पुगिसकेँ के के गरौंला भनी
बाँधी प्रेमसमुद्रमा पुल नयाँ साथै तरौँला भनी
ए प्यारा अब ता बसे नयनमा छाएर छाया छवि !
तिम्रो जीवनझैँ म बन्छु कविता मायालु मेरो कवि ।५

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*