ritu khanal

कविता : समर्पण

रितु खनाल

छोडी आज गयौ तिमी पर कतै खाटा परेका दुख
ए प्यारा प्रिय, सम्झिएँ नजरले हेरी रूँदै सम्मुख
तिम्रो नाम जपूँ कतै हृदयमा दुख्ला पुगे माझमा
छातीभित्र समुन्द्र बग्छ कि कतै छायाँ बनी साँझमा ।

यो मेरो प्रिय राग हो कि अथवा चाहा बढेको भनूँ
आँखा बन्द हुँदा म भित्र म तिमीलाई पढेको भनूँ
ए प्यारे !अब ता तिमी नयनको आऊ कुनामा बस
तिम्रा याद पिएर दु:ख म भुलूँ आँखा लुकाई रस ।

आँखा चिम्लनभुल्छु सम्झी मनमा ना ना थरीका कुरा
घोचिन्छन् पिरमा भए जतिसुकै ना ना थरीका छुरा
जा जा जा लगिदे सबै कथन यो ए रातकी जुन्किरी
मायाको लयमा मिठो हृदयको राखी बजा बाँसुरी ।

गाढा प्रेम तिमी रचेर रचना माया खन्याऊ ममा
तिम्रा निम्ति बलूँ जसै धपधपी चम्के हिरा रातमा
तिम्रो प्रेम कला सदा नयनमा राखी सजाई रहूँ
सर्माई म त लाजले मुख सबै छोपी लजाई रहूँ ।

फूलैफूल बिचै रहेछ ममता बाँडेर सिद्धिन्न यो
ए प्यारा ! थपिद्यौ तिमी प्रणय लौ बाँडेर रित्तिन्न यो
पैलो प्रेम अनेक रूप रसले सत्प्राण यो भर्दछु
पैलो मिष्ठ सुहाग हात कसिलो सेवा मता गर्दछु ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*