prakash dahal 960

एउटा मान्छे जिउँदै छ मनमा…

उदय जीएम

दिन, साता, महिना हुँदै वर्षै बितेछ । खै ? यो अवधिमा घडीको सुईले कति फन्को मार्यो कुन्नि ? घडीको सुईले जति फन्को मारे पनि अहँ आएन फेसबुकमा एउटै पनि म्यासेज । आएन मोबाइलमा एउटै पनि एसएमएस, सुनिएन कुनै आवाज । देखिएन कुनै छायाँछवि !

पुष्पकमल दाहाल अर्थात प्रचण्ड कतिपटक यो बाटोघाटो वा आकाशमा ओहोरदोहोर गरे होलान् ? खै, त्यसको लेखाजोखा छैन मसँग । किनकि एकपटक पनि आएन यस्तो म्यासेज, ‘‘जेठान कता ? म तपाईंको माथि आकाशमा ।’’ न आयो आकाशबाट खिचेको दाङको तस्वीर, न आयो कुनै खुशी र पीडाको सन्देश । सुनसान, सुनसान अनि सुनसान । यो बीचमा धेरै चाडपर्वहरु आए तर न कहिल्यै कुनै गुनासो आए, न कहिल्यै समाचार आए, न कहिल्यै खुशीका खबर आए, न कहिल्यै शुभकामना !

यसपालि राजधानीका गल्लीहरुमा निकै ओहोरदोहोर गरियो । अहँ, कतै सुनिएन तिम्रो पदचाप ।

त्यो सिंहदरबार ! जिन्दगीको त्यो यात्रासम्म कहिल्यै पसिएन त्यता । कताबाट मान्छे छिर्ने हो ? कताबाट गाडी छिर्ने हो ? कताबाट ठूला मान्छे छिर्ने ? कताबाट साना मान्छे छिर्ने ? कसरी पो छिर्ने ? तिमी थियौ, त्यसैले अनायासै मोडियो पाइला सिंहदरबारतिर । पहिलोपटक सिंहदरबार छिरेको यो मनुवालाई तिम्रै कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहजै भेट भो र खिचियो एउटा तस्वीर । तिम्रो अकल्पनीय देहावसानपछि धेरैपटक त्यो सिंहदरवार छिर्ने योग जुर्यो, तिमीलाई खोजिरह्यो यो मन, तिमीलाई खोजिरहे यी आँखा । खै, सदासदाका लागि निभेको प्रकाश कहाँ देखिन्थ्यो र ? कहाँ भेटिन्थ्यो र ? तर पनि खै यो मन, यी आँखा मूर्खता गरिरहन्छन्, फेरि पनि गरिरहन्छन् ।

कहिलेकाहिँ नेकपाका अध्यक्ष प्रचण्डका कार्यक्रमहरु लाइभ हुन्छन् । लाग्छ, त्यो लाइभ प्रकाशले नै गरिरहेछन् । ती सभा÷समारोह र यात्राहरु, जहाँ प्रचण्ड सहभागी हुन्छन्, त्यतैकतै तिमी उभिएको आभास हुन्छ । प्रचण्डका पारिवारिक, सामाजिक, राजनीतिक लगायतका अनगिन्ती कामहरुमा काँध थापेर कुदिरहेको अनुभूति हुन्छ ।

मलाई थाहा छ, तिम्रा झिनामसिना मानवीय कमजोरीहरु ढुकेर बस्ने र ‘तिललाई पहाड’ बनाई पिता प्रचण्डमाथि प्रहार गर्नेहरु धेरै थिए र उनीहरुले तिम्रो छवि ‘पारस’ बनाइदिए । नयाँ दिल्लीमा बसिरहेको मान्छेलाई ‘सिङ्गापुर, बेलायत, अमेरिका’मा मोज गरिरहेको भन्ने समाचार पनि यिनै आँखाले हेर्नुपर्यो । आज कोहीकोही दूधले धोएको ‘चोखो’ बनेर साखुल्ले बनिरहेका पनि भेटिन्छन्, देखिन्छन् । हुन त मृत्युपछि सबै खत माफ हुन्छ भन्छन् तर तिनीहरु ‘गोहीको आँसु’ भन्दा केही लाग्दैनन् । मिडियाबाट सर्वाधिक लखेटिएको र पीडित मान्छे भएर पनि कहिल्यै मिडियाप्रति बक्रदृष्टि नराखी उनीहरुलाई समेत विश्वासमा लिएर प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वकालमा तिमीले मोर्चा सम्हालेको देख्दा जिब्रो टोक्न वाध्य भएका थिए सबै । मलाई थाहा छ, तिम्रो एउटै सपना र जपना थियो, प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वकाल जसरी पनि सफल बनाउनु ।

तिम्रो फरक आस्था, मेरो फरक आस्था । यो दुबैलाई थाहा थियो तर खै कुन्नि ? केले जोडेको थियो हाम्रो सम्बन्ध ? कहाँ अडिएको थियो त्यो नाता ? सोच्दा आफैलाई अचम्म लाग्छ अहिले । तिमीमाथि मेरो र ममाथि तिम्रो विश्वास र भरोसाको एउटै मात्र आधार थियो, विश्वास ।

‘कालको जेठोकान्छो कोही हुँदैन’ भन्छन् बूढापाकाहरु । अकल्पनीय पीडा थप्दै अस्तायो प्रकाश, निभ्यो प्रकाश । विगतका ती मीठा पलहरु र सम्झनाहरुलाई साँच्दै र बाँच्नुको विकल्प छैन । हामी सबैबाट तिमी विदा भए पनि हामी भुल्ने छैनौं तिमी र तिम्रा योगदानलाई । एउटा मान्छे जिउँदैछ मनमा !!! prakash dahal 960

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*