sangita bhandari rapti swasthya bigyan pratisthan

जनशक्ति व्यवस्थापन प्रमुख चुनौती

sangita bhandari rapti swasthya bigyan pratisthan

संगीता भण्डारी / उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी पुरानो र नयाँ जनशक्ति व्यवस्थापन गर्नु आफूहरुको प्रमुख चुनौती भएको बताउँछिन् । प्रतिष्ठानको पदाधिकारी नियुक्तिका लागि सबै पक्षसँग परामर्श गरिरहेको उनको भनाई छ । प्रतिष्ठानको अबको काम, चुनौती, शैक्षिक कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर नौलो जनउभार साप्ताहिकका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी यहाँ साभार गरिएको छ । –सम्पादक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनुभएको छ । प्रतिष्ठानको कामलाई कसरी अगाडि बढाउने सोच गर्नुभएको छ ?

भर्खरै नियुक्त भएको छु । हाम्रो स्वास्थ्य सचिवज्यूको पद बहाली भएको पनि एक हप्ता मात्रै भएको छ । अहिले मन्त्रालय, प्रतिष्ठान र उपक्षेत्रीय अस्पतालको नीति नियमावलीहरु केही बनेको छैन । यी सबै मिलाउनको लागि समय लाग्छ ।

प्रतिष्ठानलाई कसरी सबैभन्दा उत्कृष्ट मोडलमा सञ्चालन गर्ने भनेर सोचिरहेको छु । यहाँका चिकित्सक र कर्मचारीहरु पनि विस्थापित हुने फिल नहोस् । त्यस्तै प्रतिष्ठान पनि शैक्षिक उद्देश्यसहित आएकाले यो नितान्त आवश्यक छ ।

प्रतिष्ठान मेरो सोच मात्र नभएर यहाँका जनताको अपेक्षा अनुसार अघि बढाउनुपर्ने हुन्छ । म त्यही समन्वयको लागि मन्त्रालय, प्रतिष्ठान र यहाँको अस्पताल तथा जनताको मध्यस्थकर्ताको रुपमा काम गरिररहेको छु ।

तपाई उपकुलपतिमा नियुक्त त भइसक्नुभयो तर, अन्य पदाधिकारी नियुक्त हुनुभएको छैन । यसले पूर्णता कहिले पाउँछ ?

सचिव ज्यू नभएर पनि केही ढिलाइ भएको हो । मैले आफै एक्लै नियुक्त गर्ने भन्ने हुँदैन । यहाँका बासिन्दाहरुको भावना बुझ्नुपर्छ । त्यसैगरी यहाँका चिकित्सकहरुका इच्छा के छ भनेर बुझ्नुपर्छ । उहाँहरुले इच्छा राखेर मात्र भएन सरकारले पारित गरेको निश्चित मापदण्ड छ । त्यो मापदण्ड अनुसार म जानुपर्छ ।

कुन तहको मान्छेलाई रष्जिटार बनाउने, कुन तहको मान्छेलाई निर्देश बनाउने र शिक्षाध्यक्ष बनाउने भनेर मैले सरकारको नीति कार्यान्वयन गर्नुपर्छ । त्यस्तै यहाँको जनचाहना र आवश्यकता हेर्नुपर्छ । ठूलो प्रतिष्ठान ल्याउनको लागि त्यसलाई हाँक्न सक्ने सक्षम व्यक्ति ल्याउनु मेरो जिम्मेवारी पनि हो । सबै सन्तुलन कायम गर्नको लागि मलाई समय लागेको हो । अबको दुई हप्ताभित्र म रिक्त पदाधिकारी नियुक्त गर्छु ।

कहिलेसम्म पदाधिकारीले पूर्णता पाउँछ ?

दुई हप्ताभित्र मैले केही निर्णय गर्नुपर्छ । पदाधिकारी नहुँदा बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा नीति निर्देशन हुन सकेको छैन । बजेट ल्याउन र सञ्चालन गर्न पनि अप्ठेरो भइरहेको छ । अब चाँडोभन्दा चाँडो नियुक्ति हुन्छ ।

अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी अघि बढ्छ । आम सर्वसाधारणले बुझ्ने भाषामा अब के–के कुरामा सुधार हुन्छ भन्दिनुहोस् न ?

यो प्रतिष्ठान दाङको लागि मात्र नभएर पश्चिम नेपालकै प्रदेश नं ५, ६ र ७ को लागि उपयोगी हुन्छ । बिरामीको सीमित घेरा हुँदैन । राम्रो सेवा सुविधा दिन सकेको खण्डमा बिरामीहरु अस्पतालमा आउँछन् ।

तीन वटै प्रदेश हेर्ने गरी यहाँ शैक्षिक प्रतिष्ठान खडा हुन्छ । जसले विभिन्न तहको पठनपाठन गर्नुका साथै अहिले भएको राप्ती उपक्षेत्रीय अस्पताल र अन्य अस्पताल विकासको दायित्व पनि मेरो भन्ने भावना राखेर काम गर्छ । यहाँ विशेषज्ञ डाक्टरहरु हुनेछन् ।

गोविन्द केसीको आन्दोलनपछि छात्रवृत्तिमा पढ्नुभएका विशेषज्ञ तथा अन्य डाक्टरहरुलाई कर्णाली, दाङलगायतका पछाडि परेका क्षेत्रमा पठाइदिनुपर्छ भनेर मैले स्वास्थ्य सचिव ज्यूलाई भनिसकेको छु ।

भएको जनशक्तिलाई पनि उहाँहरुको इच्छाअनुसार क्षमता अभिवृद्धिका लागि तालिमहरुको अबसर प्रदान गरिनेछ । शुरुको एक दशक बाहिरका विशेषज्ञ आउँछन् । त्यसपछि यहाँकै उत्पादित जनशक्तिले काम गर्छ । हामीले आम जनतालाई अनुभूति हुने गरी काम गर्ने छौं ।

जनशक्ति उत्पादनको काम अथवा शैक्षिक कार्यक्रम कहिलेदेखि शुरु हुन्छ ?

अहिले ५० वेडको जनशक्ति छ । अहिलेको अवस्थामा हामीले केही गर्न सक्दैनौं । अहिले नै एमबीबीएस चलाउन सकिदैन । पढाउने शिक्षकको पनि अभाव छ । हामीले अन्यत्रबाट ल्याएर काम गर्नुपर्छ । अहिले भौतिक पूर्वाधारको अभाव छ । अहिले त्यही अस्पताल लिने कि प्रतिष्ठान छुट्टै गराउने भनेर अन्योल पनि छ । भौतिक पूर्वाधारको काम गर्न अझै तीन वर्ष लाग्छ । त्यसपछि हामीले नियमित शैक्षिक कार्यक्रम शुरु गर्नेछौं ।

जुन विषय चाँडै सञ्चालन गर्न सम्भव हुन्छ त्यसैको पढाइ पहिले शुरु हुन्छ । अस्पतालको स्तरवृद्धि गरेपछि मात्र हामीलाई एमबीबीएसको पढाइ सञ्चालन गर्न मान्यता प्राप्त हुन्छ । अहिले हामीलाई तत्काल एमबीबीएस सञ्चालन गर्न काउन्सिलको मापदण्डले पनि दिदैन ।

नीतिगत रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन पारित भएको छ । साथसाथै अहिले राप्ती उपक्षेत्रीय अस्पताल पनि सञ्चालन भइरहेको छ । यसको समन्वय कसरी हुन्छ ?

सबैभन्दा जटिलता नै यही छ । वीर अस्पताल र न्याम्सको अहिले पनि द्वन्द्व छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुँदा म आफैले भोगेर आएको छु । मिसनको पालाको कर्मचारी एउटा हुनुहुन्छ । पछि प्रतिष्ठानले नियुक्त गरेका कर्मचारी अर्कै हुनुहुन्छ । त्यो दुई वटालाई समन्वय गराउन असाध्यै गाह्रो भएको छ ।

मैले ज्वलन्त रुपमा दुई/तीन वटा देखिसकेको हुनाले म पनि अत्यन्तै संवेदनशील छु । सचिव ज्यू पनि यो विषयमा निकै संवेदनशील हुनुहुन्छ । कसैलाई पनि हामी माथि प्रतिष्ठान लादियो भन्ने फिल हुनुहुँदैन । प्रतिष्ठानले पनि तिमीहरु हाम्रो हौ भनेर जबर्जस्त गर्नुभएन । यो विषयमा मैले यहाँ फिल्डमै आएर छलफल गरेका छु । केन्द्रमा पनि हामीहरु सचिवज्यूसहित मन्त्रीज्यूसँग छलफल गरेका छौं । विज्ञहरुलाई कसरी राखेर यसलाई कसरी ठिक ढंगले अगाडि लैजाने भनेर छलफलको काम भइरहेको छ ।

अस्पतालको स्तरवृद्धि पनि होस् भन्ने हामी सबैको चाहना हो । यहाँ रहनुभएका डाक्टरहरुको उचित व्यवस्थापन होस् र साथसाथै प्रतिष्ठान पनि आओस् भन्ने हामी सबैको चाहना हो । प्रतिष्ठानमा नयाँ हुने कर्मचारी र पूराना कर्मचारीबीच कुनै मनमुटाव नहोस् भन्नेमा म निकै सचेत छु ।

यहाँनेर म प्रष्ट हुन खोजेको के भने नि अहिले मन्त्रालयको दरबन्दीमा रहनुभएका डाक्टर तथा कर्मचारीहरु हुनुहुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान भइसकेपछि प्रतिष्ठानअन्तर्गत आउनुपर्छ । अब उहाँहरु प्रतिष्ठानअन्तर्गत आउनुपर्छ कि सरकारी दरबन्दीअनुसार नै काम गर्नुहुन्छ ? उहाँहरुको समायोजनको सन्दर्भमा तपाईसँग ठोस योजना के छ ?

प्रतिष्ठानको ऐन अनुसार आएपछि प्रतिष्ठानकै नियम लागु हुन्छ । तर, प्रतिष्ठान आएपछि उहाँहरु छोडेर जानुपर्छ भन्ने होइन । हामीलाई चाहिएसम्म मन्त्रालयले त्यो दरबन्दी दिन्छ ।

जस्तो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विशेषज्ञ डाक्टरहरु मन्त्रालयअन्तर्गत दरबन्दीका डाक्टरहरु हुनुहुन्छ । अहिले यहाँका चिकित्सकहरुले त्रास देखाइरहनुभएको छ । प्रतिष्ठान आउँछ सबै छोडेर जानुपर्छ । यहाँको स्वास्थ्य सेवा डामाडोल हुन्छ भनेर त्रास देखाउनुभएको छ । त्यस्तो अवस्था कहिल्यै आउन दिनुहुँदैन ।

हामीले नयाँ नियुक्ति गर्छौं । उहाँहरुले पनि मन्त्रालयको दरबन्दीमा रहेर काम गरिररहनुहुन्छ । हामीलाई जनशक्ति चाहिएसम्म उहाँहरुले काम गरिरहनुभएको छ । अहिले ६ महिनाको समय सिमा निर्धारण गरेको उहाँहरुलाई प्रतिष्ठानअन्तर्गत आउने कि नआउने भनेर मात्रै हो । उहाँहरु प्रतिष्ठान अन्तर्गत नआए पनि काम गर्न कसैले रोक्दैन । काम गर्न दिन्छौं हामी ।

हामी आउँदा वित्तिकै यहाँका डाक्टर आउनुपर्छ भन्ने हुँदैन । यहाँ प्रचार गरेजस्तो खाली हुँदैन । यहाँ अहिले रहनुभएका चिकित्सकहरुभन्दा बढ्ने हुन्छ । घट्ने र खाली हुने कुरै हुँदैन ।

तपाईले भर्खरै पत्रिकामार्फत् प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौंमा राख्ने भनेर घरभाडाका लागि सूचना प्रकाशित गर्नुभएको छ । प्रतिष्ठानको दाङमा केन्द्रीय कार्यालय नखोलिकनै काठमाडौंमा सम्पर्क कार्यालय खोल्दा आम जनतामा आशंका पैदा भएको छ । तपाईले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवहारिक कार्यान्वयन गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

यो हल्ला गलत हो । म दाङमा नै बस्छु । दाङमै बस्ने गरी मलाई व्यवस्था गर्न यहाँका मेसु र आम सरोकारवालाले सहयोग गर्नुप¥यो । सम्पर्क कार्यालय भनेको सम्पर्कका लागि मात्र हो । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सम्पर्क कार्यालय काठमाडौंमा छन् । शुरुको काम स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र मन्त्रिपरिषद्सँग धेरै हुन्छ । त्यसको लागि शुरुको केही दिन हामी काठमाडौंमा हुन्छौं । बजेट नभएर काम केही हुन सक्दैन । बजेट व्यवस्थापनका लागि मात्र हो हामी काठमाडौंमा बस्ने । काम दाङको लागि गर्छौं ।

प्रतिष्ठान सबै केन्द्रअन्तर्गत हुन्छन् । सम्पर्क कार्यालय मात्र काठमाडौंमा मात्र हो । अहिले पनि दाङमा भवनको खोजी भइरहेको छ । हामी घर भाडा लिएर बस्नु परे पनि यही बस्ने हो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*