मेरो भागमा परेका प्रकाश दाहाल

उदय जीएम

Udaya_Prakash..

मृत्युको अपुष्ट खबर

आज म उनको मृत्युको खबर लेख्दैछु ।

खबर लेख्दैछु त के भनौं र ? लतारिँदै छु । बिहान उठ्नुबित्तिकै सुनेको खबर । अपुष्ट खबर, पुष्टि गर्नै गाह्रो । पुष्टि भएपछि पत्याउनै गाह्रो… ।

“उदयजी, सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा यस्तो कुरा आइरहेको छ । के होला हँ ?”, साथी केएल पीडितले बिहानै फोनमा प्रकाश दाहालको मृत्युको समाचारबारे सोध्नुभयो ।

“के भएर ?” मैले प्रतिप्रश्न गरें । “हर्ट अट्याक भएर भन्ने कुरा आएको छ”, केएलजीले सामाजिक सञ्जाल र अनलाइनले लेखेका कुरा बताउनु भयो ।

राति अबेर सुत्ने र बिहान अबेर उठ्ने आफ्नो बानी । केएलजीको त्यो कुराकानी सुन्दै गर्दा शरीर झम्म भयो, हातखुट्टा लल्याकलुलुक भए । फोन राखेर हत्तपत्त फेसबुक खोलें । टाइमलाइन पूरै भरिएका थिए, कसैले ढुक्कसँग मृत्यु भइसकेको अर्थमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए त कसैले जिज्ञासा भरिएका शव्दहरु राखेका थिए ।

के गरौं र कसो गरौं ? छटपटी भयो ।

प्रकाश दाहालकै फोन नम्बर डायल गरें । स्विच्ड अफ । उनकै अर्को नम्बरमा डायल गरें, त्यो पनि स्विच्ड अफ ।

दिमागमा फ्याट्ट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य आउनु भो, जो पुष्पकमल दाहाल “प्रचण्ड” पछिल्लोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुनुहुन्थ्यो । उहाँले “हो पनि होइन पनि” जस्तो आफै रनभुल्ल परेको जवाफ दिनुभयो । अनि हतारैमा हानिएँ चियापसलतिर ।

घोराहीको मेवाड कफीहाउस, जहाँ प्रकाश दाहाल आफै आएर चिया पिएर गएका थिए । त्यहाँ पनि चर्चा उनैको थियो । धेरैजसो पत्रकार साथीहरुको जमघट हुने मेवाड कफीहाउसमै टेलिभिजनका स्क्रिनहरुमा पनि प्रकाश दाहालकै अपुष्ट भनिएका खबरहरु आइरहेका थिए । सामाजिक सञ्जालहरुमा उस्तै । दाङकै पत्रकार नरेन्द्र केसीको एउटा स्टाटस देखियो, जसले प्रकाशको मृत्यु भएकै अर्थ लगाउन सकिन्थ्यो । यी हल्लाहरु पूरै असत्य सावित होऊन् भन्ने सोंच्दासोंच्दै सत्य हो कि जस्तो लाग्ने उहाँको स्टाटसले झनै झस्कायो । उहाँको स्टाटस सत्यको नजिकजस्तो किन पनि लाग्यो भने ठिक त्यही समयमा उहाँ उपप्रधानमन्त्री, माओवादी केन्द्रका वरिष्ठ नेता तथा दाङ– २ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरासँगै हुनुहुन्थ्यो । तैपनि मलाई पत्याउन गाह्रो भइरहेको थियो । छटपटी बढ्दै गएपछि कृष्णबहादुर महरा सरका छोरा राहुल महरालाई फोन डायल गरें । उठेन । अनि, कृष्णबहादुर महरा सरलाई नै फोन डायल गरें ।

“प्रकाश दाहालको मृत्युको खबर आइरहेको छ । मलाई पत्याउनै गाह्रो भइरहेको छ सर । विशेष स्रोतबाट सरलाई केही खबर आएको छ कि ?”

“हो, त्यो सत्य हो ।” महरा सरको यो आवाजसँगै छाङ्गाबाट खसेझैं भएँ । जे सत्य नहोस् भन्ने सोचेको त्यही सत्य भइदियो ।
––––––

प्रसङ्ग ज्वाईं–जेठान कम्पनीको
वरिष्ठ पत्रकार मोहन मैनाली सरले हाँसोठट्टामा मलाई “राष्ट्रिय जेठान” भन्नुहुन्छ । धेरैको जेठान भएकाले “राष्ट्रिय जेठान” भन्नुपर्ने उहाँको तर्क । घरका बैनीज्वाईंहरु त हुँदै हुनुहुन्छ, त्यसबाहेक नरेन्द्र केसी, डिल्ली मल्ल, सूर्य थापा, नेत्र केसी सबै ज्वाईंसापहरु । त्यसैमध्य प्रकाश दाहाललाई पनि म ज्वाईंसाप भनेरै बोलाउँथें । उनलाई ज्वाईंसाप भन्नुमा पनि एउटा कथा छ ।


प्रकाश दाहालले पोष्टिएका यी तस्वीर र क्याप्सनहरु अब सम्झनामा मात्र ।

प्रकाश दाहालले बिना मगरसँग बिहे गरेपछि पार्टीले उनलाई कारवाही गर्यो र उनी भारतको नयाँ दिल्लीमा बस्न थाले । उनी खाली नै थिए, त्यही भएर होला, सामाजिक सञ्जालमा निकै सक्रिय रहन्थे । हामी एकअर्काका स्टाटस र फोटोमा कमेण्ट गर्दै कमेण्ट बक्समै कुराकानी चलाउँथ्यौं । यसमा सक्रिय सहभागिता रहन्थ्यो काठमाडौंका साथी मनोज आठपहरियाको ।


प्रकाश दाहालले पोष्टिएका यी तस्वीर र क्याप्सनहरु अब सम्झनामा मात्र ।

एक दिन–
फोटो र स्टाटसमा कमेण्ट गर्दागर्दै मनोज आठपहरियाले मलाई उचाल्दै भने, “प्रकाशलाई ज्वाईसाप भनेर जिस्काउनु त ।” मैले “भैगो” भने । यसैगरी अर्को दिन पनि मनोजले त्यही कुरा दोहोर्याए । अनि मैले पनि कमेण्टमै “ज्वाईसाप” भनेर लेखें । बिनालाई लिएर गएको हुनाले ज्वाईसाप भनेको भन्ठानेर केही दिनसम्म उनी अन्कनाइरहे । पछि आफै जेठानसाप भनेर बोल्न थाले र त्यही साइनोले निरन्तरता पायो ।

सम्बन्धका आयामहरु

जब दशैं, तिहार, नयाँ वर्ष वा अन्य कुनै विशेष पर्वहरु आउँथे, फेसबुक म्यासेन्जरमा प्रकाश दाहाल लेख्थे, “जेठानसाप, यसपालि त केही आएन त ।” कुन पर्व वा अवसरमा हो, उसैको शुभकामना बनाएर पठाइदिन्थें म । उनी पोष्टिन्थे सामाजिक सञ्जालहरुमा ।


नयाँ वर्षको शुभकामना ।

दशैंको शुभकामना ।

दशैंको शुभकामना ।

दशैंको शुभकामना ।

आफ्ना बुवा पुष्पकमल दाहाल “प्रचण्ड”को दाङमा कुनै कार्यक्रम हुँदा उनी स्टाटस लेख्थे, “आज दाङ जाँदैछु । आदरणीय जेठानसाप उदय जीएमलगायतका साथीहरुसँग पक्कै भेट हुनेछ ।” फर्किँदा एउटा सेल्फी हानेर पोष्टिन्थे र लाग्थे बुवा प्रचण्डसँगै आफ्नो गन्तव्यतिर ।

कहिले मोबाइलमा म्यासेज पठाउँथे, “जेठानसाप म तपाईंको सिधा माथि आकाशमा ।”

म जिस्किन्थें, “मेरो माथि आकाशमा भएको भन्ने के प्रमाण छ ? आकाशबाट मेरो घरको फोटो खिचेर पठाउनू ।” उनी घोराहीको फोटो खिचेर पठाउँथे ।

एकपटक अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पार्टी कामको सिलसिलामा दाङ आउनु भो । गणेश चित्रालयमा कार्यक्रम चल्दै थियो । प्रकाशले फोनमा भने, “तपाईंले हल्ला गरिरहने मेवाड कफीहाउसको चिया पिउने मन छ ।” म गणेश चित्रालयको प्रवेशद्वारनेर पुगें । प्रकाशलाई ल्याएर मेरै पसलमा पुगें । “दिदी ज्ञानमाला”सँग चिनापर्ची गराएँ र मेवाड कफीहाउसमा लिएर गएँ । त्यहीं चिया र चियागफ सक्यौं अनि कसैले सेल्फी खिच्यौं र सामूहिक फोटो पनि ।


घोराहीको मेवाड कफीहाउस अगाडि प्रकाश दाहालसँग । यो फोटो अब सम्झनामा मात्र सीमित रह्यो । तस्वीर : कुलदीप न्यौपाने

बेलामौकामा अध्यक्ष प्रचण्डसँगै जतिपटक दाङ आउँथे प्रकाश शायद उति नै पटक भेटघाट हुन्थ्यो हाम्रो । उनलाई प्रष्टै थाहा थियो मेरो फरक आस्था, फरक विचार तैपनि पछिल्लोपटक बुवा प्रचण्ड प्रधानमन्त्री हुँदा बुवाको कार्यकाल सफल बनाउने र मिडियाका विषयमा धेरैपटक सल्लाह लिन्थे । मुलुक अत्यन्त सम्वेदनशील घडीमा रहेको बेला होस् वा सहजतापूर्ण अवस्था । जहिले पनि प्रचण्ड नेपाली राजनीतिको केन्द्रविन्दुमा रहे । जतिबेला पनि सहजै फोन उठाउने र आफूसँग भएको दिन मिल्ने सूचना सहजै दिने गर्थे उनी । कतिपय बेला उनी यति उदार पनि हुन्थे कि विश्वास गरेर उनले लिक गरेका केही तस्वीरहरु पोष्ट गरिदिएर (एक अर्थमा विश्वासघात) उनलाई अनाहकमा विवादमा पनि तानिन्थ्यो । उनी गुनासो पोख्थे, म अनावश्यक उदार नहुन भन्थें ।

प्रधानमन्त्री कार्यालयमा एकछिन
मेरो जेठो छोरा अजय जीएमलाई कलेज भर्ना गर्न गएको बेला राजधानीमा हल्लिने क्रममा वरिष्ठ कवि स्नेह सायमिले एक्कासी मलाई सिंहदरबार छिराउनु भो । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री धनिराम पौडेललाई भेट्दै गर्दा मैले फेसबुक म्यासेन्जरमा लेखें, “कता ?” प्रकाशले लेखे, “म प्रधानमन्त्री कार्यालयमा । तपाईं कता ?” मैले आफू शिक्षा मन्त्रालयमा भएको बताएपछि उनले प्रधानमन्त्री कार्यालयमा बोलाए । त्यहाँ पुगेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग फोटो खिच्ने अवसर जुर्यो । प्रकाश दाहाल र तत्कालीन प्रेस सल्लाहकार गोविन्द आचार्यजीले खिचेको फोटो म्यासेन्जरमा आएपछि मैले पोष्टिएँ, “जिन्दगीमा पहिलोपटक सिंहदरबार छिरियो । खप्परमा त लेखेरै आएको रहेछु, पहिलोपटक नै प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्यालयमा फोटो खिच्ने सौभाग्य प्राप्त भो ।” केही दिनपछि यसैलाई थाहाखबर डटकममा भाइ जयसिंह महराले लेख्नु भो, “सिंहदरबार छिर्ने छापामार शैली !”

अन्तिम भेट : लाजिम्पाट
२०७४ भदौ ४–५ गते नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन राजधानीमा सम्पन्न भयो । प्रेस सेन्टर, प्रेस युनियन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ लगायतका संगठनहरुको “लोकतान्त्रिक–प्रगतिशील–समावेशी व्यवसायिक प्यानल”को तर्फबाट “जनजाति सचिव”मा मेरो उम्मेदवारी थियो । प्रकाश दाहालले मेरो लागि आफ्नो फेसबुक पेजमा मत मागेका थिए ।

हाम्रो प्यानल विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष तथा कांग्रेससँगको गठबन्धनका नेता पुष्पकमल दाहाल “प्रचण्ड”ले नवनिर्वाचित सिङ्गै केन्द्रीय समितिलाई बधाई तथा भोजको कार्यक्रम आयोजना गर्नुभयो, लाजिम्पाटमा । प्रकाश दाहालसँगको अन्तिम भेट र कुराकानी त्यही भयो । धेरैपटक फोटो खिचिएकै थियो, त्यो बेलाचाहिँ बैनी बिनासँग फोटो खिचेर भोजमा सहभागी भइयो । बिना र रेणुजीसँगको प्रत्यक्ष भेटचाहिँ त्यही पहिलो थियो । महासंघको चुनावका बेला पनि उम्मेदवार चयन गर्दा मेरो पक्षमा आफ्नो वृत्तमा पूरै लविङ गरेका रहेछन् प्रकाशले । त्यो कुराचाहिँ उनले भनेनन्, मैले अरु नै स्रोतबाट पछि थाहा पाएँ ।


प्रचण्ड निवास लाजिम्पाटमा बैनी बिना मगरसँग ।

मिडियामैत्री प्रकाश : मिडियाको कोपभाजनमा
मान्छेहरु प्रकाश दाहालको छवि तत्कालीन राजा ज्ञानेन्द्रका छोरा पारस शाहसँग तुलना गर्छन् र गर्थे । यद्यपि, उनी सहज थिए, सरल थिए र सबैसँग सजिलै भिज्नसक्ने थिए । एउटा सञ्चारकर्मीको हिसाबले भन्ने हो भने उनी मिडियामैत्री थिए । मैले देखेका, भोगेका र संगत गरेका प्रकाश दाहाल बाहिर चर्चा गरिएजस्ता बिलकुलै थिएनन् । बरु मिडियामैत्री प्रकाश मेरै आँखा अगाडि मिडियाको कोपभाजनमा परिरहे ।

एक दिन अनलाइनहरुमा समाचार आयो । प्रकाश दाहाल नयाँ दिल्ली बस्दाको समय थियो त्यो । समाचारको आशय थियो, प्रकाश दाहाल बिना मगरसहित विभिन्न देशको शयर गरिरहेका छन् । मोजमस्ती गरिहेका छन् । मैले फेसबुकमै सोधें, “खुब देशविदेशमा मस्ती गरिएको छ रे त ।” उनले एकैछिनमा नयाँ दिल्लीबाट फोन गरे र भने, “यी हेर्नुस्, म यहाँ नयाँ दिल्लीमा छु । पत्रकारहरु कस्ता कस्ता र कतिसम्म झुठ समाचार लेख्न सक्छन् ? आफै बुझ्नुस् ।” म आफू पनि पत्रकार भएको नाताले आफै लज्जित महसुस गर्थें र धैर्य गर्नुस्, सबै ठिक हुन्छ भनेर सम्झाउँथें ।

प्रकाश दाहाल मिडिया वा सोसल मिडियाको कोपभाजनमा पर्नु, तारो बन्नुमा उनको एउटै दोष थियो कि उनी प्रचण्डका छोरा थिए । राजनीतिक द्वेष र पूर्वाग्रहका कारण प्रचण्डलाई प्रहार गर्ने ठाउँ ढुकेर बस्ने र यता प्रकाश दाहाललाई दानव वा राक्षसको जस्तो छवि बनाएर प्रस्तुत गरिदिने । त्यसपछि आममानिसमा उनीप्रतिको छवि र धारणा कहिल्यै राम्रो बन्न सकेन ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुने पक्कापक्की भएको अवस्थामा दाङका तर काठमाडौंमा बस्ने एकजना पत्रकारले लेखेको स्टाटसको स्क्रिनसट पठाएर प्रकाशले भने, “उहाँलाई एक महिना मसँग संगत गर्न लगाइदिनुस् । एक महिनाको संगतमा म उहाँले भनेजस्तै रहेछु भन्ने लाग्यो भने त्यतिबेला जति लेखे पनि लेख्नुहोला । अहिलेचाहिँ फेसबुक र ट्वीटरका ती स्टाटस हटाउन भनिदिनु होला ।” मैले यी कुरा जस्ताको तस्तै स्टाटसवाला पत्रकारलाई सुनाइदिएपछि ती स्टाटसहरु डिलिट गरिए । लगातार मिडियाको कोपभाजनमा परे तापनि उनी आफू भने मिडियामैत्री नै थिए । भन्थे, “मैले गल्ती गर्छु भने लेख्नैपर्छ, लेखून् तर यहाँ त…. ।”

पछिल्लोपटक
पछिल्लोपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बिना मगरका प्रचार सामग्री डिजाइन गरेर पठाएँ फेसबुकमै । दुईचार दिनसम्म पनि ती सामग्री पोष्ट नभएको देखेर मैले सोधें, “खै त प्रचार सामग्री ?” उनले बिनाको फेसबुक पेजमा पोष्ट भएका ती सामग्रीको स्क्रिनसट पठाए तर केही लेखेनन् । शव्दबिनाका ती कुरा नै हाम्रा अन्तिम कुरा भए ।

सम्बन्धको सूत्रपात
प्रचण्डपुत्र प्रकाश दाहालको रुपमा मैले धेरै पहिले सुनेको नाम हो । यद्यपि उनीसँग मेरो प्रत्यक्ष सम्बन्ध थिएन । एकताका उनको एउटा फोटो भाइरल भयो । त्यो फोटोलाई प्रकाश दाहाल रक्सीले फिटान भएर पल्टिएको भन्ने थियो । त्यो बेला संसारै उल्टिएर उनलाई खेदिरहेको थियो, गोदिरहेको थियो ।

मलाई लाग्यो, “अति गर्नु तर अत्याचार नगर्नु ।” लुकीलुकी भट्टीमा रक्सी धोकेर बाहिर निस्केर सद्धे बन्ने अनि प्रकाश दाहालको खेदो खन्नेहरु पनि देखिए । त्यस्ता ढोङी र आडम्बरी मान्छेहरु देखेर खै कुन्नि किन हो ? दिमाग उल्टो घुमेछ । मचाहिँ प्रकाशलाई खेदिरहेका ढोङीहरुको विरुद्धमा उत्रिएँ । खै ? प्रकाशलाई कसैले भनिदियो कि ? फेसबुकमा उनले एड गरे कि मैले ? यादै भएन ।

र, अन्तमा
अचानक आएको आजको कुदिन ! स्तव्ध छु, निःशव्द छु र मर्माहत छु । अझै पत्यार लागेको छैन तिम्रो मृत्युको खबर । अहँ, नर्भिक हस्पिटलदेखि पेरिसडाँडा र आर्यघाटमा पुग्दासम्मका दृश्य र स्वयं प्रचण्डले दागबत्ती दिएपछि धुवाँ बनेर उडेका दृश्य हेरिसक्दा पनि यो मन तिम्रो मृत्यु भएको मान्न तयार छैन । मनले नमाने पनि हावासरी फैलिएको तिम्रो मृत्युको खबर यथार्थमा सत्य बनेर मेरोसामु उभिएको छ । एक्कासी परेको यो बज्रपातलाई सहने शक्ति प्रचण्ड परिवारलाई मिलोस् । मनले माने पनि नमाने पनि सत्यलाई स्वीकार गरेर भन्नै परेको छ, हार्दिक श्रद्धाञ्जलि, अलविदा !

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*