जुन : कविता / रितु खनाल

ritu khanal

जब रापिलो सुर्यले
आफ्नो बुढौलिपन देखाउँदै जान्छ
ए जून !
तिम्रो बैँस फुलेर आउँछ
लाखौं तारा माझ तिमी जब मुस्कुराउछौ
म त्यही मुस्कनमा हराएर लठ्ठीएको लामो समय भयो ।
तिम्रो वृत्ताकार चेहरा
मलाई दर्पण जस्तै लाग्छ
जहाँ म आफू हराइरहेको रुमल्ली रहेको पाउँछु
हो मलाई तिमीसँग प्रेम छ ।
तिमी बिनाको रात
यो विशाल आकाश रित्तो काख जस्तै लाग्छ ।
तर
सामिप्यताको सम्भावना छैन
थाहा हुँदा हुँदै किन बस्छ प्रेम?
बुझ्न सक्दिनँ
हर रात तिम्रो उपस्थितीको प्रतीक्षामा हुन्छन्
यी नयनहरू
जब मौनता भित्रका आवाजसँग म लड्ने गर्छु
असङ्ख्य सपनाका रहर पोखिन थाल्छन्
तिमीमाथि हैकम जमाउन खोज्छन्
कयौँ पटक छट्पटाएको छ यो मन
तिम्रो उपस्थिती नहुँदा ।।
खै कस्तो प्रेम गरेँ तिमीलाई?
न सक्छु म तिमीलाई अपनाउन
न सक्छौ तिमीले मलाई स्वीकारेर आफ्नो भन्न
तर पनि किन यस्तो निकटता?
ए जून !
चाहे तिमी पूर्ण बन या आधा
दाग रहित ताराहरु भन्दा
दाग सहितको तिम्रो चेहरासँग
मलाई अधिक प्रेम छ ।
हो जुन
जब बादल तिम्रो र मेरो प्रेमको तगारो बनिदिन्छ
म निसासिन्छु
र औँसीको रातसँग युद्ध गर्न
आफ्ना नयनहरु बिछ्याइदिन्छु ।।
तिमीलाई हेर्ने कैयौँ आँखाहरुसँग किन जलन हुन्छ?
प्रिय जून
किन तिमी सबैको नजरबाट दूर रहेर
मेरो सामु मात्र उभिन सक्दैनौ?
म प्रेम गर्छु तिमीलाई
बुन्ने गर्छु तिमीसँगै अनगिन्ती सपना
तिम्रोसामु आफ्नो खुसी
आफ्नै आँशुले धुन बाध्य छु ।।
ए जून !
त्यसैले त
तिमीसँग हरदम गुनासो छ ।।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*