जन्तरेले ल्याए ‘पालामको राजकुमारी’

काठमाडौँ, १ साउन  । मलेसियामा कार्यरत तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतका अतिथिहरूले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरे ।

jantare 1कृति लोकार्पणपछि बोल्दै मुन्धुमविद्समेत रहेका प्रमुख अतिथि काइँलाले कवि जन्तरे सांस्कृतिकचेत बोकेका कवि भएको दाबी गर्दै लोकार्पित कृतिभित्रका कविताहरूले पाठकको मन छुने विश्वास व्यक्त गरे । उनले भने, “परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका साथ आफ्ना कवितामा समेटेका छन्, यो नै उनको सफलता हो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख समेत रहेका डा. गिरीले जन्तरेका कविताहरू पढ्दा आफूलाई उनी राम्रो संभावना बोकेको कवि लागेको बताए । “एउटा कविमा हुनु पर्ने सबै चीजहरू उनमा रहेको पाइन्छ ।” सांस्कृतिक चेतनाले राष्ट्रियता मझबुत हुने उल्लेख गर्दै उनले कविहरूले जीवन र जगतको बोध गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक कवि तथा प्राज्ञ शशी लुमुम्बूले जन्तरेको ‘पालामको राजकुमारी’ मुन्धुमी भावभूमिमा आधारित रहेर रचिएको कृति भएको टिप्णी गरे । उनले भने, “डायास्पोराबाट आएको जन्तरेको यो एउटा उल्लेखनीय कृति हो ।”

कवि तथा कथाकार टङ्क भट्टराईले जन्तरेका कवितामा परदेशी पीडा, स्वदेशप्रेम र स्व–संस्कृतिप्रतिको प्रगाढ आस्था प्रतिबिम्बित भएको बताए । उनले भने, “कृतिभित्र प्रेम, वियोग, वेदना पनि उत्तिकै प्रकट भएका छन् ।”

कवि चन्द्र रानाहँछाले जन्तरेको कृतिको नाममै हिज्जे बिग्रिएको भन्दै नेपाली भाषामा कुनै पनि कविले कविता लेख्दा त्यसको वर्णविन्यासमा पनि विशेष ध्यान पु¥याउनु पर्ने जिकिर गरे । उनले थपे, “पुस्तकको नाम ‘पालामकी राजकुमारी’ हुनु पर्नेमा ‘पालामको राजकुमारी’ भएको छ, यो गलत हो ।”

नियात्राकार तथा कवि जय छाङ्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिभित्रबाट युवाकवि जमुना राई र दीपक थापाले एक–एक वटा कविता वाचन गरेका थिए ।

प्रेस काउन्सिल, नेपालका सदस्य चेतनाथ धमला, गीतकार सङ्घका सचिव वसन्तवित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङ, निबन्धकार तथा पत्रकार दीपक सापकोटा, पत्रकार लक्ष्मण श्रेष्ठ, गायक तथा सङ्गीतकार शिवसङ्गम राई, नाट्यकर्मी जीवन थापालगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन श्रीराम राईले गरेका थिए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*