भ्रमको बाटो : कथा

mira-prasai

मीरा प्रसाईं
एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि तुरुन्तै “अ म्यासिभ थ्याङ्क यु हजुर, म सरल शर्मा अमेरिकाबाट ।
मैले लेखें , “वेल्कम ।”
फेरि स्माएलको इमोटिकेसन आयो ।
बदलामा मैले केही लेखिनँ । मेरो स्वभाव हतपत्त कसैसँग नजिक हुने खालको थिएन । भोलिपल्ट फेरि उहीँ सरल शर्मा स्माएलको इमोटिकेसनका साथ देखा प¥यो । हाय र हेल्लो गर्दै दुईचार दिन बिते । सबै पोस्ट र फोटोमा लाइक कमेन्ट भटाभट आउन थाले उसका । किन लाइक कमेन्ट गरेर चासो देखाएको होला ? आफ्नै मनसँग सोधे, एक मन रिस पनि उठ्यो । केही दिनको सामान्य कुराकानीपश्चात् ऊ मेरो सौन्दर्यमा कायल भएको कुरा गर्न थाल्यो ।

“हुन पनि म असाध्यै सुन्दर थिएँ ।” सबैले त्यसै भन्थे । प्राकृतिक रूपमै सुन्दर थिएँ म । सरल पनि त्यसै भन्थ्यो “हजुरलाई त सुन्दर देखिन मेकअप नै गर्नु नपर्ने रहेछ ।” काला आँखा, सुरिलो नाक, पीपलपाते ओठ, चेरी फल झैँ राता गाला, गाईको घ्यु झैँ सेतो–पहेँलो छालाको रङ, बान्की परेको न होचो न अग्लो कद । ऐना हेर्दा आफ्नो गुलाफ जस्तो फक्रिएको रूप देखेर भुतुक्कै हुन्थेँ म आफै पनि । कुनै पनि पुरुषले गरेको तारिफले मलाई उनीहरूतिर झुकाव बढाएको थिएन । कसैले दुई शब्द मीठो बोल्यो र आफ्नो तारिफका लागि केही शब्द खर्चियो भन्दैमा म फुरुङ्ग हुने खाल्की केटी थिइनँ तर पनि सरलसँग कुरा गर्दा रमाइलो लाग्न थाल्यो मलाई । खोइ, उसको शैली नै मायावी थियो कि, त्यसै त्यसै म उसको शैलीमा कायल हुन थाले । कसैसँगको पहिलो भेट नै “फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन” भने झैँ हुँदो रहेछ । सरलप्रतिको आकर्षण चरमोत्कर्षमा पुग्न थालेको थियो । दिनहुँ जसो हाम्रो कुरा हुन्थ्यो, एकदिन उसलाई सोधेँ, सुरुमा र अन्त्यमा स्माएलको इमोटिकेसन पठाउने गज्जबको शैलीका बारेमा, उसले लेख्यो “बोल्नु अघि मुस्कुराउनुस् त कति सुन्दर देखिन्छ ! मुस्कानको भाष साह्रै मीठो पो हुन्छ त !” अनि फेरि उहीँ इमोटिकेसनको शैली अर्थात् उसकै मुस्कानको भाष ट्यास्स पठायो ।

उसले मेरो बारेमा राख्ने चासो सामान्य साथीको भन्दा फरक थियो । एकमन त रिस पनि उठ्थ्यो तर खोइ कस्तो रिस हो कुन्नी ! मन नपराएको रिस वा प्रेमिल घुर्की जस्तो देखिने रिस ! तर मनदेखि भने सरलप्रति सहजतापूर्वक आकर्षित हुँदै छु भन्ने सत्यतासँग म आफै पनि अनविज्ञ थिएँ । बिस्तारै बिस्तारै ऊसँग कुरा गर्न मन लाग्न थाग्यो । अनलाइन छ कि छैन भनेर दिनमा कैयन् पटक हेर्ने गर्थें । मेरो मन मस्तिष्कले फेसबुकका भित्ताहरूमा उसलाई खोज्न थाले मानौँ, सरल पानी हो अनि म तिर्खाएको काग जो आकुलब्याकुल हुँदै तृप्तताका खातिर भौतारिँदै छ ।

यो सत्य हो, देख्न नसकिने चीजको पनि अस्तित्व हुन्छ जस्तो कि हावा, बिजुली अनि प्रेम । हावा श्वासप्रश्वास र शीतलताका निम्ति प्रयोग गरिन्छ तर अस्तित्वमा देखिँदैन । बिजुली यान्त्रिक सञ्चालन र प्रकाशको प्रयोगात्मकतामा देखिन्छ तर अस्तित्वमा देखिँदैन । हो, त्यस्तै प्रेमको अस्तित्व पनि देख्न र छुन नसकिने तर महसुस र अनुभव गर्न मात्र सकिने हुँदो रहेछ ।

“अक्सिटोसिन र डोपामाइन नामक हर्मोनल परिवर्तनले हुने स्वतःस्फूर्त शारीरिक क्रिया हो प्रेम” भन्ने पढेको मैले । प्रेम नामक चीज अस्तित्वमा छ भन्ने कुरालाई सधैँ भ्रमका रूपमा लिएँ ।

मैले सधैँ भ्रम मानेको चीजले किन मलाई बेस्सरी समाएर आफूतिर तान्दै छ ? प्रेम नामक जेलमा कैद गर्न खोग्दै छ, आफ्नो अँगालोमा समाहित गराउन खोज्दै छ । रुमानी यादले निथ्रुक्कै भिजाउन खोज्दै छ । म आफैसँग आश्चर्यचकित थिए । दिनहरू बित्दै गए हाम्रो मित्रता झन् गाढा हुँदै गयो ।
सरल उसका दुखका कुरा सुनाउथ्यो ।” आमा छैनन् रे उसकी । सौतेनी आमाले माया गरे पनि आमाको झैँ निश्चल ममता उसले कहिल्यै पाएन रे ।” म मायाको लागि तड्पिएको छु । मेरी भावी श्रीमतीबाट आमाको पनि माया पाऊ बस ! यही प्रार्थना छ भगवान्सँग !” हो, सरल यस्तै भन्थ्यो । उसको हृदयविधारक भनाइले मलाई भावुक बनाउँथ्यो । आखिर नारी हृदय छ मेरो शरीरभित्र कसैको पीडामा नपग्लियोस् यो कसरी हुन सक्छ र ? उसका कुराले मेरो मनको प्रेम घडा आँसुले भरिएर आँखाको बाटो हुँदै भुइँमा छताछुल्ल हुन्थ्यो । त्यो बेला लाग्थ्यो, “अहिले नै प्रेमिल अँगालोमा बाँधेर प्रेमले चुम्दै भनौँ “म तिमीलाई प्रेमको कमी कहिल्यै हुन दिने छैन सरल ।” छोटो समयमै हामी दुवै आत्मीय भइसकेका थियौँ । ऊ मसँग खुलेर कुरा गथ्र्यो । तसर्थ मलाई पनि ऊसँग खुल्न अप्ठ्यारो लागेन ।

पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था, रहर र चाहना आदिका बारेमा मैले सबै बताएँ । जीवनको कुनै क्षणमा जसरी पनि अमेरिका गएरै छाड्ने उत्कण्ठालाई पनि मैले व्यक्त गरेको थिएँ । मैले सोधिनँ, तर उसले उसको सबै वृत्तान्त बतायो । मानौँ, म उसकी श्रीमती हुँ या त हितैषी साथी । उसका कुरा सुन्दा लाग्थ्यो, साह्रै पीडित छ ऊ । उसको व्यक्तित्वसँग त प्रभावित थिएँ म, अब बिस्तारै उसका मुटु छेड्ने कुराहरूसँग पनि प्रभावित हुँदै गएँ ।

कामको सिलसिलामा अचानक मलाई ताप्लेजुङको धुन्सा जानुपर्ने भयो । त्यहाँ हाम्रो संस्थाले गर्न लागेको कामको सर्वेक्षणका लागि बेलायतबाट आएकी समाजसेवी डा.लिन्डा म अनि अरू दुई जना साथी धुन्साका लागि प्रस्थान ग¥यौ । सरललाई अपर्झट आइपरेको कामका बारेमा केही बताउन पाएको थिइनँ मैले । धुन्साबाट काठमाडौँ फर्केपछि मात्र फेसबुकमा अपडेट भएँ । यी दिनहरूमा मैले सरललाई नसम्झिएको पल थिएन ।

बिनाखबर अचानक गायब भएकीले म्यासेन्जरभरि सरल शर्माका म्यासेजहरू थिए, प्रेमिल रिस थियो त्यहाँ, आवेग थियो अनि भर्खरै अङ्कुरित अव्यक्त प्रेमले मेरो अनुपस्थितिमा थोरै भए पनि टुसा छोडेको थियो । उसका म्यासेजहरू पढिसकेपछि पुलकित भएँ म । हप्ताभरिको थकान छुमन्तर भयो । तिनै प्रेमिल भावनाका म्यासेजहरूलाई हृदयभरि छताछुल्ल पोखेँ अनि आँखा चिम्लिएर मभित्रको म पात्रलाई सोधेँ ‘म’ले भन्यो, “सरलको चोखो प्रेममा परी आस्था ।” मस्तिष्कले भन्यो –“फेसबुक च्याटको भरमा कुनै निर्णय नगर् आस्था, पछुताउनु पर्ला ।” एक मन लाग्यो, मस्तिष्क सही छ । मैले संयमता अपनाउनुपर्छ । मैले गरेका मेरा धेरै जसो निर्णयहरू असफल प्रतीत भएका थिए ।

प्रेम साँचो हो कि झूटो हो निष्कर्ष निकाल्ने केही मनोवैज्ञानिक सूत्रहरू प्रेममा धोका खाएर डिप्रेसनको सिकार भएको मीतदाइलाई मनोविद्कहाँ लिएर जाने क्रममा मैले पनि थाहा पाएको थिएँ तसर्थ मैले पनि मनोविद्ले गर्ने प्रारम्भिक परिक्षणका केही प्रश्नोत्तर परिक्षण गरी हेरेँ तर परिक्षण पूरा गर्न भने मनले पटक्कै मानेन । मन–मस्तिस्कलाई मान्न तयार थिएन अनि मस्तिष्क मनलाई । कुनै चीज यस्ता पनि हुँदारहेछन् जसको अस्तित्व भोगाइमा मात्र हुने रहेछ ।

अन्ततः अगाडि जे हुन्छ समयलाई छोडिदिएँ । कोही मानिस यत्तिकै खास लाग्दा रहेछन् । न त मनको नाता न त छ रगतको तर पनि प्रिय लाग्दा रहेछन् । सरल शर्मा प्रिय मात्रै होइन सर्वप्रिय नै लाग्न थालिसकेको थियो मलाई । मेरा आँखामा अरू पनि सुन्दर पुरुष नभएका भने होइनन् । सबैले मलाई आकर्षित गर्न अनेक प्रपञ्च रचिरहन्थे, मेरो छेउ आउन वहाना खोजिरहन्थे तर म भने उनीहरूसँग सधैँ विकर्षित भएँ । देख्दै नदेखेको सरल शर्मासँग आकर्षित भइसकेकी थिएँ तनबाट पनि मनबाट पनि ।

म अति नै व्यस्त थिएँ । प्रेम दिवस आएको पनि चाल पाइनँ । स्माएलको इमोटिकेसन पछि “आइ लभ यु” लेखिएका म्यासेज ट्याङ आवाजका साथ देखियो । फेसबुक खोलेर हेरेँ उसले त मेरो फोटो नै राखेर प्रेमप्रस्ताव राखेको रहेछ । मेरो फोटो राखेको क्याप्सनमा लेखिएको थियो “न हावामा देखिन्छ प्रेम न पानीमा न माटोमा देखिन्छ प्रेम न ढुङ्गामा । प्रेम भोगाइको मीठो अलौकिक अनुभूति हो जसलाई महसुस मात्र गर्न सकिन्छ । आज प्रेम दिवसका दिन यही मीठो अनुभूति मेरी उनीलाई । के तिमी मेरी दिलकी मात्रै होइन घरकी रानी बन्छ्यौ आस्था ?”

त्यो देखेर मनमा एक किसिमको मीठो महसुस भयो । छातीभित्र कतै कम्पन बढे जस्तो कस्तो–कस्तो मदहोसीपनले छोप्न थाल्यो । त्यस्तो अलौकिक महसुस कहिल्यै भएको थिएन मलाई । मनले उसलाई रोजिसकेको भए पनि हतार गर्नु उचित ठानिनँ र त्यो दिन जवाफ केही पनि लेखिनँ ।

त्यो दिनदेखि मन एक तमासको भइरहेको थियो अचानक अपरिचित नम्बरबाट कल आयो “तपाईको पार्सल आएको छ, डि.एच.एल. को एयरपोर्ट शाखामा सम्पर्क राख्नुहोला !” “कसले ? कहाँबाट ?” सोध्न नपाउँदै उताबाट फोन ढ्याङ्ग राखेको आवाज आयो । अचम्ममा परेँ, पार्सल नै पठाउने मान्छे त कोही थिएन, कसले पठायो होला ?

यस्तै सोचाइमा डुब्दै डि.एच.एल. को अफिस पुगेँ । पठाउनेको नाम गोप्य राखिएको रहेछ तब त पार्सलका प्रति झन् आश्चर्य थपियो । हतार हतार घर आएर पार्सल खोलेँ । सिटिजन इको ड्राइभ घडी, माइकल कर्सको ब्याग, गुची परफ्युम र ह्वाइट गोल्डको जस्तो देखिने औँठी पनि थियो पार्सलमा ।

सोचमग्न भएर फेसबुक खोलेँ, “स्माएलको इमोटिकेसन त थियो नै त्यस मुन्तिर लेखिएको थियो, “डार्लिङ, सामान पायौ ? तिमीलाई मेरो भ्यालेन्टाइन गिफ्ट हो ! मलाई थाहा छ, तिमी पनि मलाई माया गछ्र्यौ । प्लिज, डोन्ट टेक इट अदरवाइज ।”

अचम्म लाग्यो, मेरो एड्रेस कहाँबाट पायो उसले ? ऊ अनलाइन नै थियो तुरुन्त सोधेँ “मेरो एड्रेस कहाँबाट पायौ ?” लेख्यो, “जहाँ इच्छा त्यहाँ उपाय प्रियतमा ।” झनक्क रिस पनि उठ्यो । अलिकति थर्काउँदै लेखेँ “भन छिटो ?” टोल नम्बर र घर नम्बर नभए पनि तिम्रो फोन नम्बर त थियो मसँग । नाम, सहर र देश अनि फोन नम्बर छ भने सामान हात लाग्ने कुरामा ढुक्क भए हुन्छ भन्ने कुरा डि.एच.एल.को अफिसमा थाहा पाएँ । अनि के थियो र प्रिय !” अनि उहीँ इमोटिकेसनको शैली । अचम्म लाग्नु, रिस उठ्नु अनि खुसी हुनु सबै एकैपल्ट भयो मलाई त्यो बेला । साँच्चै, त्रिवेणीको सङ्गम पनि रोचक हुने रहेछ ।

सरलको अनौठो प्रेम प्रस्तावपछि म पनि उसलाई सोच्न बाध्य भएँ । ती सामानलाई राति सुत्ने बेलामा प्रेमले फेरि सुमसुम्याएँ, चुमेँ । मनको ‘म’ले भन्यो “आफ्नो तर्फबाट मन पराएकोसँग विवाह गर्नुभन्दा केटातर्फबाट मन पराइनु राम्रो हो, त्यस्तोमा अस्वीकृत हुने सम्भावना हुँदैन ।” धेरै अनुभवीहरू यस्तै भन्थे, मलाई पनि हो झैँ लाग्यो ।

झटपट जवाफ लेखेँ “म पनि तिम्रो प्रेममा परेकी छु सरल ।” अनि दुई ज्यानको बीचमा एउटा मुटु भएको इमोटिकेसन पठाए । खलिल जिब्रानले भनेका छन् “मौरीका लागि फूल जीवनस्रोत हो, फूलका लागि मौरी प्रेमदूत हो ।” म फूल हुँ रे अनि उसको जीवनमा जीवनस्रोत भएकी छु रे अनि ऊचाहिँ मेरा लागि प्रेमदूत हो रे !” सही भनेको थियो सरलले साँच्चै ऊ मेरा लागि प्रेमदूत नै थियो ।

उसैले त हो मेरो जीवनमा प्रेमको सन्देश प्रवाह गरेको । मेरो दिलको संरक्षण गरेको । अब त हामीबीच झनै सघन र गहन कुराहरू हुन थाले । घण्टौँ प्रेमिल वार्तालाप हुन्थ्यो अनि कहिले अन्तरङ्ग कुरा पनि हुन पुग्थ्यो । अँगालोमा बेरिएर प्रेममा चुर्लुम्म डुबुल्की मार्न त ऊ आकाशमा थियो अनि म धर्तीमा तर पनि हामी बीचको दुरी विज्ञानले छोट्याइदिएको थियो ।

एकदिन सरलले “तिम्रा हुनेवाला सासूससुरा” भनेर फोटो पठायो । मलाई औधी खुसी लाग्यो त्यो पल । काममा व्यस्त त थिएँ नै म, साथै मेरो प्रेम जीवन पनि सुमधुर चल्दै थियो । सरलका प्रेमिल कुरामा जरा हालेको अव्यक्त प्रेम केवल महसुसमा टुसाउँदै थियो । भनिन्छ, “प्रेमलाई शारीरिक स्पर्शले अझ बलियो बनाउँछ” हामीमा स्पर्श त थिएन । धेरै टाढा थियौँ हामी हाम्रो सामीप्यताबाट ।

ऊ अमेरिकी आकाशमुन्तिर थियो अनि म नेपाली आकाशमुन्तिर तर पनि सरलको प्रेमको स्पर्श नै पुस महिनामा झल्याकझुलुक देखिने पारिलो घामको न्यानो चुम्बन जस्तै थियो जहाँबाट म ओझेल पर्न चाहन्न थिएँ र सक्दिनँ थिए पनि । हावामा कावा खाँदै आकाशको सयर गर्न चरा नै हुनु नपर्ने रहेछ । कहिले चलचित्रमा देखिने नायिका हुन्थेँ म अनि कहिले अप्सरा हुन्थेँ सरल चाहिँ मेरो पछिपछि हुन्थ्यो ।

मनमौजी कल्पनामा हराउँदा समय बितेको पत्तै हुँदो रहेनछ । कहिलेकाहीँ त रात पनि कोल्टे नफेरी बित्थ्यो । अझ सरलले “तिमी त बेलायतकी राजकुमारी डायनाजस्तै छ्यौ आस्था ।” भनेपछि के चाहियो र ? लाग्थ्यो, संसारकै सुन्दर र भाग्यमानी नारी म नै हुँ । यस्तै यस्तै कल्पनाका राजमार्गहरूमा खुसीका गाडीहरू कुदिरहन्थे ।

एकदिन अपरिचित नम्बरबाट फोन आयो । उठाऊँ कि नउठाऊँको दोधारबीचैमा कल मिस्ड कलमा परिणत भयो । फेरि तुरुन्तै आयो अल्छी मान्दै उठाए । फोन सरलको रहेछ उसले भन्यो “बेबी तिमीलाई कस्तो छ ? म तिम्रो सरल चिन्यौ ? म लगभग चिच्याएँ । उसको आवाज त एकदमै मीठो रहेछ । योभन्दा अघि हामीले फोनमा कुरा गरेका थिएनौँ । च्याटमा लेख्दा जस्तो फोनमा बोल्दा कुरा गहिरा र प्रेमिल हुन सक्दैन थिए । सहज महसुस हुँदैन थियो त्यसैले, मैले नै च्याटमा मात्रै कुरा गर्ने भनेको थिएँ । सरलले भन्यो “बार्बी गर्ल, मैले तिमीलाई हिराको सेट पठा’को छु । ममीले रोज्नु भ’को थाहा छ के भन्नुहुन्थ्यो ? “मेरी बुहारीलाई यो सुहाउँछ गोरी छिन् भनेर ।” अँ, आजकाल त ममीले मलाई औधी माया गर्न थाल्नुभ’को छ नि ! आम भेरी ह्याप्पी आस्था आम भेरी ह्याप्पी !” मेरो साथी रमेशले फोन ग¥यो भने उसले भने बमोजिम गर्नू है । महङ्गो सामान पठाउन त समस्या हुँदोर’छ त्यहाँ तिमीलाई झिक्न पनि समस्या हुन सक्छ । ल म अफिसमा छु लामो कुरा गर्न मिल्दैन है बार्बी गर्ल । बाइ माइ ललि पप उम्मा … ।” एउटा लामो चुम्बन दिएर उसले फोन राख्यो ।

मैले केही सोध्न पाइनँ वा भनौँ दोहोरो कुरै भएन हाम्रो । हिजोआज सामाजिक सन्जालमा ठगीको धन्दा गर्ने गिरोहका बारेमा सुन्दै आएकी त थिएँ तर सरलका कुरामा आश्चर्यचकित हुने ठाउँ त थियो तर पनि प्रेममा सबै कुरा जायज हुने भनाइलाई आधार मानेर मेरो मनले उसको चोखो प्रेमलाई शङ्का गर्न सकेन ।

प्रेममा परेपछि मान्छेले सबै सही देख्दो रहेछ । “प्रेम अन्धो हुन्छ” भन्ने आम भनाइ सत्य प्रतीत हुँदै थियो मेरो जीवनमा पनि । सरललाई आँखा चिम्लेर विश्वास गर्थें म । सरलले फोन गरेको भोलिपल्ट भारतीय नम्बरबाट फोन आयो । सामान ल्याउने मान्छेको हो कि भन्ने अनुमान गर्न अब गाह्रो थिएन ।

हेल्लो ! आस्थाजी हो ? म रमेश सरलको साथी । सरलले मेरो बारेमा कुरा गरेको छु भन्थ्यो ।” मैले भनेँ, “हजुर, हो ।” “तपाईंको सामान धेरै महँगो भएकोले भन्सार क्लियर नगरी सामान निकाल्न नसकिने भयो । भन्सार क्लियर गर्न पैसाको आवश्यकता परेको छ आस्थाजी । के गरौँ मलाई भेट्नुहुन्छ कि मेरो खातामा पैसा जम्मा गरिदिनुहुन्छ ?”
“म अलिक व्यस्त छु हिजोआज । बरु तपाईं आउनुस् न एतै भोलि बिहान खाना खाने गरी हुन्न ?”
“आस्थाजी, हुन त हुन्थ्यो तर म पनि व्यस्त छु बरु यसो गर्नुस् न खाता नम्बर दिन्छु त्यसैमा जम्मा गर्दिनुस् न, हुन्न र ?”
“हुन्छ नि त ! बरु तपाईं सरलको साथी मलाई नभेटी फर्कन पाउनुहुन्न नि !”
“हजुर । अवश्य पनि । भाउजू नै भनौँ होला हैन अब त ?”
मैले भनेँ “हजुरकै मर्जी ।”
उसले “हस् त भाउजू ।” भनेर फोन राख्यो ।

म अति व्यस्त थिएँ । त्यो बेला मलाई खासै सामानको बारेमा सोच्ने फुर्सद थिएन पनि । सुत्ने बेलामा सरलसँग सधैँ कुरा हुन्थ्यो मेरो । आज पनि म्यासेन्जरमा उहीँ इमोटिकेसनको शैलीसँग झुल्कियो ऊ । “बार्बी गर्ल ! कहाँ हराएको तिमी ? कति बेरदेखि म तिमीलाई पर्खीरहेको छु ।”
मैले भनेँ “सरल आज थाकेको छु, भोलि कुरा गर्ने, हस् ।” मैले बुझेकी थिएँ, ऊ कुरा गर्ने मुडमा थियो तर पनि भन्यो “ओके माइ लभ । आइ लभ यु बेबी, सी यु टुमरो ।” हामी दुवै अफ भयौँ । मेरी हितैषी साथी तरुणिकालाई भनेको थिएँ हाम्रो प्रेमप्रसङ्गका बारेमा ।

उसले भन्थी “केटाहरू केवल केटीको शरीर पाउन प्रेम गर्छन् । तैँले सचेत रहनू ।” हुन पनि ऊ अनुभवी थिई यो कुरामा । “जति पुरुषले उसलाई मन पराए ती सबैले उसको शरीरलाई पहिलो प्राथमिकतामा राखेको महसुस गरी रे उसले । तरुणिकाले सरललाई हेर्न जिद्धी गर्दा पनि देखाउन सकिनँ मैले सरलको विपरीत गएर । “मलाई देखाउने सही समय आएको छैन जब आउँछ अनि देखाउनू” भनेर वाचा नै गर्न लगाएको थियो उसले मलाई ।

थाकेर लखतरान भएको शरीरलाई निद्रादेवीको ओढनीले पनि ढपक्कै ढाक्न सकेन । अहँ ! आँखा पटक्कै लागेन अनि सरललाई सिधै म्यासेज गरेर फेसबुकमा बोलाएँ । ऊ तुरुन्तै देखियो चुम्बनको इमोटिकेसनका साथ अनि लगातार अँगालो मारेको, चुम्बनको वर्षा भएको इमोटिकेसन पठायो । मैले पनि जिस्किने मुड बनाएँ । तरुणिकाले भनेको जस्तो हुन्छन् कि हुँदैनन् त सबै केटाहरू जाँच्न मन लाग्यो । लेखेँ, “सरल आज मलाई तिम्रो सामीप्यता चाहिएको छ । के गरौँ म ? तिम्रो स्पर्शको सुखमा आफैलाई भुल्न चाहन्छु सरल … … !” यस्तै यस्तै अन्तरङ्ग चाहना लेखेँ । उसले भन्यो “आस्था, सम्हालेर राख आफूलाई, अब हामी नजिक हुने दिन धेरै टाढा छैन । म हाम्रो सुहागरातको दिन मात्र सम्पूर्ण रूपले तिम्रो हुने छु अनि तिमी मेरी ।” त्यो पल विश्वास लाग्यो कि सबै केटाहरू नारी शरीरको भोको हुँदैनन् । त्यो दिनपछि सरलका निम्ति बाटेको प्रेम र विश्वासको डोरी अझ बलियो र गर्विलो भयो ।

दिनहरू बिते । हप्ताहरू बिते । हाम्रो माया झन्झन् प्रगाढ हुँदै गयो । एकदिन उसले मलाई च्याटमा बोलायो, हामी कुरा गर्दै थियौँ । कुरा गर्दागर्दै हाम्रो वार्ता अन्तरङ्ग हुन थाल्यो । च्याटमा सरलका मिठासपूर्ण कुराले निथ्रुक्कै भिजेँ म । सरलले गरेको माया र व्यवहारलाई आधार मानेर मैले आफूलाई मनमनै सम्पूर्ण रूपमा सुम्पेको थिएँ । तसर्थ कतै हिचकिचाहट लागेन उसका अघिल्तिर खुल्नलाई । उसले लेखेका संवादलाई पढ्दा आफूलाई रोक्न चाहेर पनि रोक्न सकिनँ । तत्कालका लागि, यथार्थमा नमीठो लाग्ने मीठो भूल गर्दा अलिकति पनि सङ्कोच लागेन मलाई । आनन्दको अगाडि सबै कुरा फिका लाग्दा रहेछन् । म गलत गर्दै छु भन्ने कुराको आभास नभएको भने होइन तर खोइ के भयो मलाई त्यस बखत नाजवाफ छु म । नसोचेको नचाहेको एकाएक भएको देखेर आफै आश्चर्यचकित थिएँ । सायद परिघटना त्यसैलाई पो भन्छन् कि !

भन्सारबाट सामान उकास्ने पैसा दिएको एक महिना बितिसक्दा पनि सामान पाएको थिइनँ मैले । बीचमा सरलले एकपल्ट भनेको थियो “रमेशले लगेको पैसा काम परेर चलाएछ, एक हप्तापछि दिन्छु भनेको छ, के गर्ने नचला पनि भन्न सकिनँ । भन्सारमा फसेको सामान उफ्… कसरी निकाल्ने होला म यहाँ छु । उफ् ! … तेत्रो महँगो सामान । एकछिन सोचे जसरी भन्यो “अँ बेबी यसो गर न त, तिम्रो नाममा पैसा पठाइदिन्छु, म भोलि बरु तिमी नै निकाल न त है ।

मैले भनेँ, “हुन्छ नि, मसँग पैसा छ अहिले बुबाले पठाउनुभएको, म त्यसैले सामान निकाल्छु ।” ठीक छ त्यसो भए, तिमीलाई एउटा बैनीले फोन गर्छ उसले ब्ल्याकमा थोरै पैसामा काम गर्दिन्छ तर उसलाई थोरै कमिसन दिनुपर्छ है । त्यसो भए ठीक छ आस्था । मैले भने बमोजिम गर्नू, तिमीलाई म भोलि या पर्सि पैसा पठाइदिन्छु नि त !”

सरलले त्यत्रो महँगो सामान पहिल्यै पठाइसकेको थियो । उसलाई शङ्का गर्ने ठाउँ थिएन । तीन लाखभन्दा बढीको सामान लाँदा भन्सार तिर्नुपर्ने रहेछ भनेर थुप्रै पैसा बुझाइसकेकी थिएँ मैले । बीस पच्चीस लाखको हीराको सेटका लागि चार पाँच लाख खर्च गर्न गाह्रो लागेन मलाई । कहिले यसका लागि अनि कहिले उसका लागि भनेर चानचुन तीन लाखभन्दा बढी पैसा बुझाइसकेकी थिए मैले । एक दिन दुई दिन गरेर महिनौँ दिन बिते । अहँ, हीराको हार हात परेन, न त ती दिन बीचमा सरलको अत्तोपत्तो थियो । उसले दिएको फोन नम्बरमा सम्पर्क गरेकी थिएँ तर त्यो नम्बरमा फोन कहिल्यै उठेन । मेरो मन त्यसै एकतमासको हुन्थ्यो । मैले सबैथोक सरलमा देख्न थालिसकेकी थिएँ । म त पानीबिना छटपटिएको माछा झैँ बन्न पुगेँ अचानक । काममा ध्यान जान छोड्यो । खान मन लाग्दैनथ्यो, न त राम्रो लाउन । मेरो हबिगत देख्नेहरूका “के भयो र कसो भयो ?” भनेर सोधिने प्रश्नसँग डराउन थालेँ म ।

आमाबुवा धनकुटामै होलसेल पसलमा व्यस्त हुनुहुन्थ्यो । म पढ्दै गरेकी अनि आइ.एन.जी.ओ मा काम पनि गर्ने हुनाले आफन्तको नजिकै डेरामा बस्थेँ । साथीहरू ल्याउन कसैको रोकटोक थिएन । म आफू पनि खुल्ला चरी झैँ थिएँ । तलब राम्रै आउने हुनाले आफू बस्ने दुई कोठालाई चिरिच्याट्टै पारेकी थिएँ । चाहिने सम्पूर्ण कुराहरू थिए । इन्टरनेट पनि थियो । समुद्र पारि बस्ने सरलसँग भेट भएको थियो फेसबुककै माध्यमबाट । माया गाढा पनि फेसबुककै माध्यमबाट भएको थियो । टाढा हुनेलाई नजिक अनि नजिक हुनेलाई टाढा बनाइदिएको छ यो विज्ञानको चमत्कारले पनि । बीचमा अचानक सरल अलप भयो फेसबुकबाटै । धेरै दिनसम्म मैले देखिनँ उसलाई । सरलको मायाले बलियो बनेको ऊप्रतिको मेरो विश्वासको अग्लो धरहरा गल्र्यामगुर्लुम ढल्यो र भग्नावशेषमा परिणत भयो उसको माया । भाव गहन र सघन भयो भने शब्दहरूले त्यसको मापन गर्ने क्षमता राख्दा रहेनछन् । फलस्वरूप हृदयको गहिराइबाट भावको सघन अभिव्यक्ति नुनिलो पानी बनेर आँखाको किनारा हुँदै आँसुमा परिणत हुँदो रहेछ !

दिनहरू तनाव ग्रस्त बित्दै थिए । आँसुले पीडालाई धुँदै थियो । करिब दुई महिनापछि “हाय ! बार्बी गर्ल ।” भन्दै स्माएल अनि चुम्बनको इमोटिकेसनका साथ झुल्कियो सरल । उसको मायामा तरल बनेकी म ठोस प्रायः भइसकेकी थिएँ । भावनाहरू मृतप्रायः भइसकेकी थिएँ । टुटिसकेकी थिएँ म । उसलाई देख्नासाथ झनक्क रिस उठ्यो । केही लेख्न औँलाहरू किबोर्डमा सरेका मात्र के थिए उतैबाट “सरी बार्बी गर्ल, मैले केही इन्फर्म गर्न पाइनँ । अचानक ड्याडको दुर्घटनामा मृत्यु भएपछि ममी विक्षिप्त भएर ट्रमामा जानुभयो डाक्टरको सल्लाहमा म ममीलाई लिएर स्विजरल्यान्ड ग’को थिएँ । तिमी तनाबमा हुन्छौ भनेर केही भन्न सकिनँ । मलाई माफ गर बार्बी गर्ल ।” मैले केही भन्न सकिनँ मानौँ मेरो मुखमा टम्म बिर्को लाग्यो । सरलले पनि सोधेन त्यो बेला अनि मैले पनि हिराको सेट हात परेको छैन अझै पनि भन्न सकिनँ । ऊ अलप भएको देखेर म नाङ्गो रूख झैँ सुक्दै गएकी थिएँ । प्रेमबिनाको जिन्दगी नाङ्गो रूख जस्तो पो हुने रहेछ त । सरल त मेरा लागि फूल र पात रहेछ वसन्त बनेर मेरो नाङ्गो शरीरलाई ढाकेको रहेछ । जब ऊ अचानक हरायो तबदेखि म नाङ्गो भएकी थिए । तर आज सरललाई देखेर पुनः नयाँ पालुवाहरू पलाए । सरलबाट अलग्गै बस्न नसक्ने भएपछि “अब बिहे गरौँ” भनेर मैले अड्डी लिन थालेँ । उसले भन्यो “आमालाई थोरै सन्चो हुन्छ अनि बिहे गर्ने ।” म पनि तिमीलाई आजकाल अलिक बढी नै सम्झिन थालेको छु आस्था ।”

दुवै व्यस्त भयौँ केही समय । हाम्रो कुराहरूको फराकिलो आयतन खुम्चिँदै आएको थियो । चार दिन भएको थियो कुरा नभएको एकदिन आत्तिँदै फोन ग¥यो उसले “आस्था, मेरो मामाको छोरीलाई पैसाको खाँचो परेछ कति छ तिमीसँग देऊ न है । मैले यहाँबाट पठाउँदा पनि भोलि मात्रै पाउँछे उसले । मामाको अचानक अप्रेसन गर्नुपर्ने भएछ ।” सरल एकदमै आतिएको थियो त्यस्तो बेलामा मैले नाइनास्ती गर्न सकिनँ । उसैले दिएको नम्बरमा म आफैले फोन गरेँ । एउटी केटीले फोन उठाई । “पैसा लिन आऊ न” भनेँ । त्यो केटी तुरुन्त आई मसँग सत्तरी हजार थियो त्यो दिएँ । ऊ एकदमै हतास देखिन्थी । “बस” भने मैले ऊ बस्न मानिनँ । पैसा लिएर गई, खासै केहो बोलिन पनि ।

सरलसँग फेरि दुईतिन दिन कुरा भएन । मनमनै मौन संवाद मात्र हुन्थ्यो । मनले मनलाई सुन्थ्यो । आँखाले आँखाको भाका बुझ्थ्यो । अब सबै थोक त मिलेको थियो भने दुई शरीर एक हुन मात्र बाँकी थियो । बिस्तारै सरल मप्रति नकारात्मक बन्दै गयो । कारण केही थिएन तर सधैँ निहु खोज्न झगडा गर्न मौका हेरिरहन्थ्यो । एकदिन ऊ साथीको जन्म दिनमा गएको रहेछ त्यहाँ हार्ड ड्रिङ्क््स गरेको उसलाई लागिसकेको रहेछ । मसँग कुरा हुँदा उसको कुरा गर्ने शैली सधैँको जस्तो थिएन । छाडा प्रवृत्तिका संवाद हुन थाले । उसले त मलाई “नीलो चलचित्रमा देखिने जस्तो स्वःक्रीडा गर्न लगायो । मैले मानिनँ । फकाएँ । सम्झाएँ । बुझाएँ केही लागेन । अन्ततः ऊ झोक्कियो तथानाम गाली ग¥यो । म यदि उसको छेउमा भएको भए चिथोर्ने, निचोर्ने, कोपर्ने, कुट्ने सबै गथ्र्यो होला । एउटा भोको सिंह झैँ देखिएको थियो सरल त्यतिबेला मेरो ल्यापटपको स्क्रिनमा । उसको यस्तो भीमकाय रूप देखेर अवाक् बनेँ म । मान्छे चिन्नलाई सङ्गत गर्नुपर्ने रहेछ । मान्छेको मनस्थिति बुझ्नु साह्रै कठिन कार्य हो भनेर त्यति बेला नै बुझेँ मैले । म टोलाइरहेँ । ल्यापटपको स्क्रिनमा ऊ अझ पनि मलाई मनमौजी गाली गर्दै थियो । साङ्केतिक भासामा छाडा प्रवृत्ति देखाउँदै थियो । त्यो दिनपछि म साह्रै दुःखी बनेँ । तर पनि सरललाई गलत मानेन मेरो मनले । लाग्यो, सरल बोलेको हैन रक्सी बोलेको हो । केही दिन मैले उसलाई पाठ पढाउने विचार गरेँ । धेरै दिन मैले फेसबुक खोलिनँ । न त उसले नै कहिल्यै कल ग¥यो ।

“आजचाहिँ सरलसँग म आफै कुरा गर्छु, नियास्रो लागेको छ ।” यस्तै सोच्दै म आफैमा पुलकित हुँदै थिएँ । अफिसमा खासै काम थिएन पत्रिका पढेर बसे । “सामाजिक सन्जालमा ठगी गर्दै आएका गिरोहको केही सदस्यलाई महानगरीय प्रहरी अपराध महाशाखाको साइबर अपराध अनुसन्धान सेलद्वारा समातिएको समाचार पढेँ । मेरो मुटुको गति रोकिएला झैँ भयो । मनले मानेन सरललाई त्यस्तो पाप सोच्न सकेन तैपनि हतपत फेसबुक खोले सरल शर्मा त फेसबुकमा कतै देखिँदैन । म्यासेन्जरमा गएर हेरेँ, “यु क्यान नट रिप्लाई टु दिस पर्सन” भन्ने लेखेको थियो त्यहाँ । छाँगाबाट खसेर एकैचोटि चिप्लेढुङ्गामा पछारिएँ म । उसले दिएको नम्बरमा फोन गरेँ । फोन लागेन । आलसतालस भएँ म । ओठतालु सुक्यो । हावाको वेगझैँ हुत्तिएर घर गएर सावरमा निकैबेर चिस्याए आफूलाई अनि हनुमानढोकातिर लागेँ । त्यहाँ त सामाजिक सन्जालबाट ठगिनेको लर्को लागेको रहेछ । कोही प्रेमीद्वारा गुप्त खिचिएको भिडियोको ब्ल्याकमेलमा परेका रहेछन् । कोही यौनसंवादको सिकार भएका रहेछन् अनि कोही टपलेस फोटोको ब्ल्याकमेलमा परेका रहेछन् । घटनाका सबै प्रकृति हेर्दा हरेक घटनामा प्रेम हाबी भएको थियो । प्रेमीले प्रेमिकालाई ठगेको थियो । सरल शर्माका अरू धेरै नाम रहेछन् । म जस्ता प्रेमिका धेरै रहेछन् उसका । उपहार पठाएर बिहे गर्ने वाचा धेरैलाई गरेको रहेछ । उनीहरूको त ग्याङ नै रहेछ । हनुमान ढोकाको दृश्य देखेर म उभिएको धर्ती भासिए झैँ भयो । आफूमाथिको आकाशले थिचे जस्तै भयो । निसास्सिएँ म, चारैतिर अँध्यारो छायो । शरीरभरि लोकल एनेस्थेसिया लगाए झैँ भयो । जब ब्युझिएँ टिचिङ अस्पतालको जनरल वार्डमा थिएँ म । मेरा छेउमा महिला प्रहरी उभिएकी थिइन् । आफू ठगिएको बल्ल त्यो बेला थाहा पाएँ त्यो पनि प्रेमको नाममा ।

म जस्ता शिक्षित नारी त ठगिएँ भने सोझासाझा नारीहरू त पाइलैपिच्छे ठगिन्छन् होला । अस्पतालले बिरामीलाई ठग्छ । विक्रेताले क्रेतालाई । साथीले साथीलाई । प्रेमीले प्रेमिकालाई । हो ! कत्रो भ्रममा फसेकी रहेछु म । हेर्दा हेर्दै आफू हिँडेको बाटो भासियो । सहज बाटोमा यात्रारत यात्री म, गन्तव्यमा नपुगी कता मोडिए कता । जहाँबाट फर्कन सक्ने सामथ्र्य देखिनँ मैले । आफू हिँड्ने बाटोको नक्सा आफै कोर्नुपर्छ भन्ने लाग्थ्यो तर उकालो ओरालो र समथर बाटोको नक्सा त समय, परिस्थिति र परिघटनाले कोर्दो रहेछ अनि हामीचाहिँ त्यो बाटोमा यात्रारत यात्री रहेछौँ । मलाई डिस्चार्ज गरियो । केही कानुनी प्रक्रियाका लागि म हनुमानढोका प्रस्थान गरेँ । बेलायत
सुलेख मासिकडटकमबाट

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*