छाउगोठ महिलालाई जिउँदै गाड्ने एउटा चिहान हो

narayani-adhikari-1

नारायणी अधिकारी

सुदूरपश्चिमको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाको सामाजिक विकास शाखामा रहेर कार्यसम्पादन गर्ने क्रममा गाउँ टोलमा घुमेर त्यहाँका महिलाहरुको जीवनयापनलाई नजिकबाट हेर्दै छु ।

बचबयहाँ महिलाहरुको वास्तविक अवस्था अत्यन्तै दर्दनाक छ । महिलाहरु सामाजिक, शैक्षिक, स्वास्थ्य, राजनीतिक, आर्थिक रुपमा धेरै पछि धकेलिएका छन् । उनीहरुको समस्यालाई राज्यले सम्बोधन गर्न सकेको छैन । उनीहरुका समस्याको पहिचान नै नगरी केन्द्रबाट उनीहरुकै नाममा योजना, कार्यक्रम बनाइने र त्यस स्थानमा नपुगी बजेट सकिने रहेछ । सुदूरपश्चिमका नाममा खुलेका कुनै पनि सङ्घ–संस्थाहरु उनीहरुका समस्य बुझ्न त्यहाँ पुग्न सकेका छैनन् ।

पुनर्वास नगरपालिका वडा नम्बर १, २, ८, १३, १४ र १५ मा कल्पनै गर्न नसकिने प्रकृतिको छाउपडी प्रथा छ । सुदूरपश्चिमको पाहाडी जिल्लामा यो प्रथा छ भन्ने त मैले सुनेकी थिएँ तर महाकाली अञ्चलको एक मात्र तराई जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिकामा ४८ वर्षभन्दा पहिलादेखि चलिआएको छाउगोठको चलन किन समाप्त हुन सकेन रु यो एउटा गम्भीर प्रश्न हो । यसका जवाफहरु अहिलेसम्म किन खोजिएन ? अब यसलाई बहसको विषय बनाउनुपर्ने बेला आएको छ ।

पुनर्वास नगरपालिका मात्रै हैन, समग्र सुदूरको बदनाम र कलङ्क हो छाउपडी प्रथा । बझाङ, बजुरा, अछामलगायतका पाहाडी जिल्लाबाट बसाइँ सरी आएका समुदायमा यो प्रथा रहेको छ । महिलाहरु महिनावारी र सुत्केरी भएको बेला घरबाट अलग्गै बस्न मूल घरबाट निकै टाढा सानो ३ फिट चौडाइ र ४र५ फिट लम्बाइ भएको एउटा साँघुरो खोर ९गोठ० बनाइन्छ । त्यो पनि काठपात भएकाहरुले नत्र ४ वटा खुट्टा गाडेर माथि सेउलाले छाएको हुन्छ । कतैकतै चाहिँ वस्तुभाउसँगै खुला गोठमा एउटा खटिया राखिएको हुँदो रहेछ ।

महिनावारी हुँदा महिलाको शरीर अति अपवित्र हुने र उनीहरुलाई छुन नहुने भन्छन् छाउ प्रथा पक्षपोषण गर्नेहरु । यो प्रथा नमानेमा देउता रिसाउने, घरमा दुर्घटना वा अनिष्ट हुने, वस्तुभाउ मर्ने, अन्नबाली नसप्रिने मान्यता उनीहरुको छ । घरमा कुनै सदस्य बिरामी भए भने पनि छाउ राम्रोसँग नबारेको भन्दै दोष जति महिलालाई नै दिने चलन छ ।

स्थानीय स्तरमा यो प्रथा तोड्ने धेरै प्रयासहरु भए । तर यसो गर्नु समाजका लागि नराम्रो कर्म गर्नु बराबार नै हुन्छ । यसको सुधार गर्नेहरूलाई समाजले बहिष्कार गर्छ त्यहाँ । छाउगोठको विरोध गर्नेका परिवारलगायत साना छोरा–छोरी, नाति–नातिनीलाई समेत आफ्नै काका मामा घरमा पानी बाराबारसम्म गर्छन् । यसरी बाल्यकालदेखि नै छाउपडी प्रथा तोड्नु हुँदैन भनेर परिवारले ‘स्कुलिङ’ गर्दछन् । परिआएको खण्डमा ‘संस्कृतिमाथिको प्रहार’ गरेको भन्दै हातपात समेत हुने गरेको छ ।

तराईका अन्य क्षेत्रमा जस्तै पुनर्वासमा शीतलहरको चिसो अति नै कठोर हुने गर्छ । राति यहाँको तापक्रम ७र८ डिग्री सेल्सियसभन्दा तल झर्छ । यो वर्ष मङ्सिरबाटै शीतलहर सुरु भएको छ । बालबालिका र वृद्धवृद्धालाई झनै मुस्किल भएको छ । कैयौं दिनसम्म घाम लाग्दैन । लुगा हप्ता दिनमा पनि सुक्दैनन् । तर छाउगोठमा प्रयोग हुने कम्बल र तन्ना प्रत्येक दिन धुनै पर्ने बाध्यताकारी नियम छ । नसुके पनि चिसै ओड्नु–आछ्याउनु पर्छ । अत्यधिक चिसोले हाइपोथर्मियाका भई ज्यान जान सक्छ । तर पनि नियममा छुट हुँदैन । पुसमाघको जाडोमा भिजेको कम्बल ओडर महिला दिदीबहिनीहरु रुँदै र काप्दै रात काट्ने गरेका छन् । जाडोमा छाउगोठको ‘बह’ सुनिनसक्नु छ ।

छाउपडी प्रथा एउटा साँघुरो गोठको बसाइ मात्रै होइन महिला उत्पीडनका अनेकौँ अँध्यारा पाटा छन् । यस्ता समस्या त्यहाँ बस्ने महिलाले मात्र वास्तविक रुपमा महसुस गर्न सक्छन् । यो समयमा हुने शारीरिक पीडा बेग्लै छ ।

यो जाडोमा भिजेको कम्बलमा बेरिएर काँपिरहेकी ती महिलाहरुको ‘हाय’ प्रत्येक व्यक्तिलाई लाग्छ । यो पापको हिस्सेदार हामी सबै हौं । हामी कोही पनि यसबाट अछूत रहन सक्दैनौं ।

received_380690315609842हाम्रो अभियान हिउँदकोे यो जाडोमा भिजेको कम्बल ओडेर काँपिरहेका तमाम दिदीबहिनीहरुलाई घरभित्रको न्यानो सिरकमा पुर्याएर बाँच्न पाउने आधारभूत अधिकारको प्रत्याभूति दिलाउनु हो । यसको सुधार आफैबाट सुरु गर्नुपर्छ । म के सङ्कल्प गर्छु भने मेरो वर्कतले भ्याएसम्म यस अभियानमा निरन्तर लागेर यहाँका उत्पीडत महिलाको ‘भार’ तिर्ने छु । यस सङ्कल्पसहित हामी सबै लाग्यौ भने मलाई विश्वास छ, यो कठ्यङ्ग्रिएको काल रात्रि छिट्टै समाप्त हुनेछ ।

तसर्थ हामी सबैले अब सङ्कल्प गरौं । पुनर्वासमा छाउगोठ प्रथाविरुद्ध हाम्रा आवाज बुलन्द पारौं । अब आउने हाम्रा छोरीचेलीले छाउगोठको बास बस्नुपर्ने छैन । कठ्याङग्रिने रातभरको जाडो र डरले हजारौँ महिला दिदीबहिनीले छाउगोठमा पशुसरह बस्नु नपरोस् । यो गोठ हैन, महिलाका लागि जिउँदै गाड्ने एउटा चिहान हो । यसलाई अब बाँकी राख्नु हुँदैन । यस्ता अन्याय सहेर बस्नु हुँदैन । भत्काउनुहोस् आफ्ना घरका ती छाउगोठहरु, दह्रोसँग खुट्टा टेक्नुस् । म र मजस्ता तमाम दिदीबहिनीहरु तपाईंहरूलाई परिआएको बखत काँधमा जोडेर मात्र हैन, काँधमा बाकेर हिँड्न तयार छौं ।

हाम्रो यो उत्पीडन कसैका लागि मागी खाने भाँडो बन्न दिनु हुँदैन । जसले हाम्रा दुःखलाई प्रचार गरेर डलरको खेती गर्दै आएका छन्, तिनलाई रोक्नुपर्छ । यस्ता संस्थाको ‘प्रोजेक्ट’लाई अब बहिष्कार गर्नुपर्छ । हामी हाम्रो गाउँ आफै बनाउन सक्षम छौं । हामीलाई हाम्रै समाजको प्रगतिशील संस्था र समुदाय खाँचो जसले ‘प्रोजेक्ट’ भन्दा पनि समुदायप्रतिको ‘नैतिक जिम्मेवारी’लाई महत्व दिई यो अभियानभरि हामीसँग अटुट रहनेछ ।

छाउपडी प्रथालाई अब पुनर्वास नगरपालिकामा प्रतिबन्ध लगाउनुपर्छ । यस्ता कुरीति जोगाउनेलाई छाउगोठ नभत्काएसम्म राज्यबाट पाउने सबै सेवा, सुविधा र सिफारिसहरु रोकिदिने व्यवस्था गर्नुपर्छ । यस्ता पाप कर्म गराउनेलाई अनागरिक बनाइदिनुपर्छ । दण्डित गर्नुपर्छ । प्रत्येक वडा–वडामा अब यसको चर्चा गरौं, यो मुद्दालाई राष्ट्रव्यापी बनाऔं । छाउगोठमा लुकेका महिलाका व्यथाहरुलाई अब उजागर गर्नु हुनेछ । सबै समितिले आफ्ना योजनामा यो सवाल समेटौं । नियमकारी निकायमा दबाब दिउँ । महिलाहरुको यो उत्पीडनविरुद्ध हामी आफैले सशक्त अभियान सञ्चालन गरौं । सबै मिली पुनर्वास नगरपालिकालाई छाउगोठमुक्त नगरपालिका बनाउँ । महिलामैत्री नगरपालिका बनाउँ ।

रातोपाटी बाट

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*