धारापानी देशकै नमूना योग्य धार्मिक पर्यटकिय गन्तव्य बन्दैछ

15049723_1272366992803011_1319061625_n

विष्णुराम आचार्य ( सचिव,पाण्डवेश्वर महादेव धाम व्यवस्थापन समिति तथा अध्यक्ष त्रिशूल निर्माण समिति )

पिता यमलाल आचार्य र माता पितादेवीको कोखबाट विसं २०३४ साल फाल्गुनमा प्यूठानको दाङबाङमा जन्मीएका हाल दाङ सौडियार निवासी विष्णुराम आचार्य समग्र दाङको पर्यटन विकासको अभियानता हुन् । विकासको नविन संभावनाको खोजी गर्ने र त्यस्को नेतृत्वदायी भूमिकामा कुशल कमाण्डरका हैसियत बनाएका आचार्य विगत दुइ दशकदेखि निरन्तर क्रियाशिल छन्, विकासको संभावनाको महासागर देख्ने उनको दुरदृष्टी र विकासवादी दृष्टिकोणले थुप्रै सामाजिक विकासमा परिणामहरु देखिएका छन् त्यस्को ज्वलन्त उदाहरण दाङको धारापानीमा स्थानीयको पहलमा भैरहेका धार्मिक पर्यटनको अभ्यास एक गतिलो आधार हो । यतिबेला उनकै नेतृत्वमा धारापानी देशकै धार्मिक पर्यटनको नमुनायोग्य गन्तव्य बन्दैछ ।

नेपाल हेभी इक्वेप्मेन्टको केन्द्रीय सदस्य तथा मध्यपश्चिमान्चल इन्चार्ज, एजुकेसन फर वेमन कार्यक्रमको क्षेत्रीय संयोजक, प्यूठान दाङ सम्पर्क मन्चको सदस्य, धारापानी मन्दिर व्यवस्थापन समिति सचिव जस्ता जिम्मेवारीमा रहेर काम गरेका आचार्यले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रविणता तह उत्तिर्ण गरेका छन् , उनै आचार्यसंग धारापानीलाई पर्यटकीय नमुनायोग्य गन्तव्य बनाउन गरिएको स्थानीयको नेतृत्वदायी भूमिकाको विषयमा इन्द्रेणी अनलाईनका अतिथि सम्पादक धनिराम शर्मा (ऋुतुविचार) ले स्थानीयको नेतृत्वमा भइरहेको धार्मिक पर्यटन प्रवद्र्धनको अभ्यासको विषयमा गर्नुभएको कुराकानी :

यहाँलाई स्वागत छ ?

धन्यवाद

धारापानीको ऐतिहासिक तथा धार्मिक पक्ष के हो ?

विशेष गरि महाभारत ग्रन्थसंग धार्मिक सन्दर्भमा धारापानी पाण्डवेश्वरधाम सम्बन्धित छ, महाभारतमा द्धैध वनको व्याख्या गरिएको छ, व्याख्यामा विशाल तालको किनारमा पाँच पाण्डवले शिवको आकृति बनाएर आरधना गरेको ग्रन्थमा भनिएको छ, त्यो विशाल तलाउ भन्नाले हालको दाङ उपत्यका हो , शिवलिंग भनेको हालको पाण्डवेश्वरको मन्दिरभित्रको शिवलिङ्ग हो । यतिमात्र नभएर पाँचपाण्डवहरु कुण्डको जल लिएर हालको प्यूठानमा रहेको स्वर्गद्वारीमा यज्ञ गरि स्वर्ग गएको धार्मिक किम्बदन्ती छ । यस अर्थमा धारपानी पाण्डवेश्वर धाम नामाकरण हुन गएको हो ।

लामो समयपछि दाङ उपत्यका बस्तीयोग्य बन्दै गयो उपत्यकामा थारुहरुले बसोबास गर्न थाले, सयम वित्दै जाँदा थारुहरु एकदिन काठ काट्न जानेक्रममा एउटा साजको रुख दिनभर काट्दा पनि ढलेन अनि अर्काेदिन काट्न जाँदा रुखमा काटिएको घाउ पुरिएको देखेपछि आश्चार्यचकित भए, थारु शब्दमा भुत्वाबा भन्ने प्रचार भएपछि कोही गएनन् , अनि लामो समयपछि अन्य समुदायहरुले यो किम्बदन्ती सुनेपछि करिब ३ सय वर्ष अघि सबैले त्यस क्षेत्रको अध्ययन गरे । अध्ययनपश्चात विशाल ढुँगामा शिवलिङ्ग, विष्णुपादुका ,गाइको खुरको आकार र बाघको आकृति र कुण्ड एउटै शिलामा देखेपछि पूजापाठ गर्न थालिएको हो   ।

15134382_1272368739469503_861120488_n

धारापानीको सांस्कृतिक महत्व के छ ?

सांस्कृति हिसाबले पनि पाण्डवेश्वरधाम निकै महत्वपूर्ण मान्छि ,थारु समुदायमा रहेको बड्का नाँच पाँच पाण्डवहरुले धारापानीको गोल्वापाखामा नाँच गर्दथे, त्यही समयमा थारु समुदायले पाण्डवहरुको नाँच देखेपछि थारु समुदायले पनि अनुसरण गरेको पाइन्छ , यो कुरा थारु समुदायको बड्का नाँचमा भेटिन्छ यस हिसाबले पाण्डवेश्वर धाम धार्मिक मात्र नभएर ऐतिहासिक सांस्कृतिक महत्वले गरिमामय छ ।

दशवर्ष अघि धारापानीको अवस्था कस्तो थियो ?

सामान्य शिवरात्रीमा मानिस जाने अनि पुजापाठ गर्ने परम्परा थियो, धारापानीको महत्व हुँदा हुदै पनि भौतिक पूर्वाधार केही थिएन विसं २०४८ सम्म , विसं २०३५ तिर बाल ब्रम्हचारी लक्ष्मीकान्त अधिकारीले कुटीबाट शुरु गरेर पछि मन्दिर बन्यो, उहाँको निधनपछि धारापानी फेरि छाँयामा प¥यो, विधिवतरुपमा केही व्यवस्थापन थिएन, लामो समयपछि स्थानीय अगुवाहरुको सक्रियतामा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गर्ने कार्य भयो । यसपछि संस्थागत विकाससंगै भौतिक विकासका कामहरु हुन थाले धारापानी विस्तारै सबैको नजरमा पर्न थालेको हो ।

धारापानीको विकास गर्ने अवधारणा कसरी आयो ?

दाङको विकास गर्ने सवालमा विभिन्न स्थानको अवलोकन भ्रमण अध्ययनको परिणामतः धारापानीको पनि संभाव्यता छ भन्ने कुराले हामीलाई छोयो, अनि यसको विकासप्रति चासो गर्नेबीचहरु छलफल गरेपछि हामी यसलाई पर्यटन विकासको रुपमा अघि बढाउने सोच बनाएका थियौ, जसले आजको धारापानी भएको हो । यहाँसम्म ल्याउन पूर्व समितिका पदाधिकारीहरु ः दण्डपाणी अधिकारी, पोषण बुढाथोकी, कुलराज अधिकारी, बामदेव अधिकारी ,स्वर्गीय विष्णुदेवी आचार्य(योगी),मानार्थ सदस्य बसुन्धरा न्यौपाने लगायतको प्रेरणाले नै हामी यहाँसम्म आउन सकेका हौ ।

15058767_1272368889469488_942488223_n

धारापानी धार्मिक पर्यटन गन्तव्य बन्ने आधार के के हुन् ?

सूगम भौगलिक आधार, ऐतिहासिक, सांस्कृतिक, धार्मिक आधार, मनोरम प्राकृतिक सुुन्दर क्षेत्र,सरयू नदी जलाधार क्षेत्र इत्यादीले धारापानीमा धार्मिक पर्यटनलाई व्यवसायीकरण गर्न सकिने आधार हुन्, त्यहीलाई टेकेर हामी निरन्तर लागि परेका छौ ।

स्थानीयको दान दक्षिणामा यति ठूलो काम कसरी संभव भो त ?

धार्मिक विश्वास मुख्य कुरा थियो भने अर्काेतिर संस्थागत नेतृत्वप्रतिको पूर्ण विश्वासले दाताहरुले खुलेरै सहयोग गर्नु भयो जसले हिजोको धारापानी र आजको धारापानीमा भिन्नता आएको हो । दान दक्षिणाबाट हामीले सवा दुइ करोड बढी आर्थिक संकलन गर्न सक्यौ, यतिमात्र नभएर ठूलो राशीको दान लिदाँ रकममा नलिएर वस्तु लिने नीतिगत व्यवस्थाले पनि दाताहरुले भौतिक पूर्वाधारमा लगानी समेत गर्नु भएको छ ।

विश्वको अग्लो त्रिशूल बनाउने योजना कसरी बन्यो ?

मुख्य गरि बुवाको प्रेरणाले मलाई विश्वको अग्लो त्रिशुल धारापानीमा बनाउन समितिमो प्रस्ताव पेश गर्न सहयोग गरेको हो, समितिले प्रस्तावलाई सर्वसहमतिले कार्यान्वयन गर्न स्विकृत गरेपछि कामको योजना बनेको हो । समितिको कार्यक्रम बनेपछि दाताहरुले सहयोग गर्न थाल्नु भो, अनि हामीमा उत्साह आयो सबैको साथले अहिले धाम परिसरमा विश्वकै अग्लो त्रिशूल स्थापना गर्न सफल भएको छौ । करिब तीन वर्षको अथक मेहनतबाट यो गौरवपूर्ण योजना सफल भएको हो । यो यत्तिकै भएको पनि होइन दाताहरुको मूख्य योगदान छ, हामी यो उदेश्लाई कार्यान्वयन गर्न पात्र मात्र हौ । उहाँ(दानवीर)हरुले धारापानीको विकासको लागि हालसम्म करिब सवा दुइ करोड रुपैया नगद दान गर्नु भएको छ, राज्यले हालसम्म सडक बाहेक पूर्वाधारका लागि ४२ लाख रुपैया अनुदान दिएको छ ।

त्रिशूल स्थापनापछि धारापानीमा भक्तजनहरुको आगमन कत्तिको छ ?

विगतमो झाडीमा हराइरहेका धारापानीमा अहिले वर्षमा दश लाख मानिसहरु आउने गर्दछन्, यतिबेला दैनिक मानिसहरुको चाँप हुने गर्दछ, देशका विभिन्न भाग लगायत भारत चीनका नागरिकहरुले पनि धारापानीको अवलोकन गर्ने गरेका छन् ।

धारापानी नमुना गन्तव्य बन्दै छ ?

धारापानी देशकै धार्मिक पर्यटकीय गन्तव्यको उत्कृष्ट नमुनायोग्य क्षेत्र बन्दैछ स्थानीयको नेतृत्वमा हामीले आज धारापानीको मुहार फेर्न सफल भएका छौ जसले हामी निकै गौरवको महशुस गरेका छौ तर यो त्यत्तिकै भएको होइन दानवीरहरुको दान दक्षिणा र अनि हाम्रो कुशल नेतृत्वले पाँच वर्षमा धारापानी देशकै नमुना गन्तव्य बन्दै गएको छ । धर्ममा आस्था राख्ने वा नराख्ने जोकोही दाङ आएर धारापानी पुग्ने गरेका छन् । वर्षमा करिब दश लाख मानिसले अवलोकन भ्रमण गर्ने गरेका छन्, आन्तरिक तथा वाह्य पर्यटकको चाप बढ्ने गरेको छ ।

धार्मिक पर्यटनको व्यवसायीकरण कस्तो देख्नु हुन्छ ?

धारापानीको अहिलेको अवस्थामा आइपुग्दा मानिसहरुको आगमन बढेको छ, होटेल होमस्टे यातायात सबैको गतिविधि बढको छ, जसबाट दाङको आर्थिक क्रियाकलाप चलायमान भैरहेको छ, विभिन्न मानिसहरुको रोजगारीको व्यवसायको प्रवद्र्धन समेत भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन सुविधासम्पन्न होटेल आवासको थप सुधार गर्न सके धार्मिक पर्यटनको व्यवसायीकरण हुन सक्छ । तसर्थ धारापानीको पर्यटन विकासको लागि समितिले मात्र संभव छैन अब निजी क्षेत्र नै यस क्षेत्रको पर्यटनको विकासको लागि अघि आउनु पर्छ, पर्यटनबाट सबै भन्दा बढी लाभ लिने पनि निजी क्षेत्र भएकोले पहलकदमी लिन पनि तयार हुनुपर्छ ।

15086977_1272368449469532_2128096640_n

पाण्डवेश्वरधामको आकर्षण के के हुन् ?

धार्मिक पक्ष भनेको पाँच हजार वर्ष पुरानो पाँच पाण्डवले तयार गरेको शिवलिङ्ग, अलौकिक साजको वृक्ष, पाण्डवको शैन शिला, देवी देवताका मूर्तिहरु, नागराजको दर्शन र दैनिक पूजापाठ भजनकृतन हुने गर्दछ त्यसैगरि मनोरम वन क्षेत्र, सरयू जलाधार क्षेत्र, सुनकोट मन्दिरसंगै दाङ उपत्यकाको अवलोकन, वनविहार , विभिन्न जीवजनावर चराचुरुङ्गीको अवलोकन आदि छन् भने विशेष गरि विश्वको सबै भन्दा अग्लो त्रिशूल, एक हजार आठ जोडी वरपीपल, एकसय आठ समीप, एकसय आठ रुद्राक्ष ,एकसय आठ शिवलिङ्ग, एकसय आठ गौमुखी ढँुगेधारा र मनोरम पार्कहरु रहेका छन् । पाण्डवेश्वर महादेवको दर्शन गरे मनोकाँक्षा पुरा हुने धार्मिक विश्वास छ, टाढा टाढाबाट मानिसहरु आफ्नो मनोकाँक्षा पुरा गर्न पाण्डवेश्वर धारापानी पुग्ने गर्दछन् ।

धारापानीको विकास गर्न राज्यको भूमिका कस्तो छ ?

पहिलो चरणमा हामीले राज्यका निकायसंग धेरै आग्रह भएपनि खासै सुनुवाई नै भएन, तर स्थानीयको सक्रियतापछि अहिले जुन परिणाम देखिएको छ, यसपछि अलिक राज्यको ध्यानाकर्षण भएको छ, घोराहीदेखि धामसम्मको करिब ९ किलोमिटर सडक स्तरउन्नती, धामको प्रवद्र्धन हालसम्म ४२ लाख रुपैया अनुदान प्राप्त भएको छ , यद्यपी धार्मिक पर्यटनलाई व्यवसायीकरण गर्ने हो भने राज्यले लगानी बढाउनु पर्छ र यसको साथै स्थानीयको पहलमा भएका यस्ता अनुकरणीय कामलाई प्रोत्साहन गर्न आवस्यक छ ।

पाण्डवेश्वरको पर्यटन प्रवद्र्धन गर्न आगामी योजनाहरु के के छन् त ?

हालसम्म भैरहेका कामहरुलाई पूर्णता दिदै विशाल तलाउ निर्माण गर्ने, धार्मिक पार्क निर्माण गर्ने, मन्दिर परिसरदेखि सुनकोट मन्दिरसम्म पाँच हजार सिढी निर्माण, भ्यूटावर निर्माण, तीस कुइन्टलको घण्टसहित मन्दिर जिर्णाेद्वार गर्न करिब अठार करोडको बजेट प्रस्ताव गरिएको छ । यद्यपी राज्य र दाताहरुले थप सहयोग गर्न सकेमा धारापानी देशकै अब्बल धार्मिक पर्यटकीय क्षेत्र बन्नेमा समिति विश्वस्त छ ।

तपाई सामाजिक अभियानमा लाग्दा पारिवारिक सहयोग कस्तो छ ?

बुवाको प्रेरणा र जीवनसंगिनीको अथक सहयोगले मैले यस क्षेत्रमा नयाँ उचाई बनाउन सफल भएको हुँ, सामाजिक क्षेत्र भनेको गैरनाफामूलक क्षेत्र हो,समयको बर्बादी गर्ने क्षेत्र हो, म व्यवसायी पनि भएकोले समम मिलाउनु मेरा लागि त्यत्तिकै चुनौति छ तैपनि मैले यस क्षेको विकासको लागि समय र दृष्टिकोण दिनु पर्ने हुन्छ, यतिमात्र होइन घरपरिवारलाई पनि समय दिनु पर्ने हुन्छ तर मैले घरलाई पनि समय नदिएर भएपनि यस्ता सामाजिक अभियानमा सरिक हुदै आएको छु, मेरो विचार र उदेश्यबारे जीवनसंगिनी राम्रोसंग बुझेकी छन्, बुझ्ने मात्र होइन मलाई अघि बढ्न सधै सल्लाह र सुझाव दिने गरेकी छन् । जसको परिणाम सामाजिक अभियानमा म खुलेरै लाग्न सक्ने मात्र होइन समाजले पत्याउने सामाजिक नेतृत्व बन्ने अवसर मिलेको छ । त्यसैको परिणाम धारापानीलाई हामीले सबैको आकर्षण केन्द्र बनाउ सफल भएका छौ ।

अन्तमा केही भन्नु छ ?

सबैलाई धारापानीको अध्ययन अवलोकन भ्रमण गर्न आग्रह गर्दछु, साथै राज्यलाई स्थानीयको मेहनतबाट भएको उपलब्धीलाई सम्मान गर्न आग्रह गर्दछु यतिमात्र होइन , धारापानीको राष्ट्रिय अन्तराष्ट्रिय महत्वलाई थप उजागर गर्न भौतिक पूर्वाधारमा लगानी बढाउन अनुरोध गर्दछु । धारापानीको विकासमा मिडियाको अहम योगदानसलाई सम्ममान प्रकट गर्दै आगामी दिनका हाम्रो अभियानमा पनि योगदानको अपेक्षा गर्दछु र अन्तमा विशेष गरि तपाई अनि इन्द्रेणी प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*