राजनीतिमा षडयन्त्र धोका र निराशा बढी छ – एटम

atom-mahara२०५२ देखि २०६२ को वीचमा पूर्णकालिन छापामार लडाकुुका रुपमा युद्ध मैदानमा होमिएका एक उर्जाशील  युवा अहिलेको शान्तिपूर्ण  राजनीतिमा भने समाजसेवा, व्यवसाय र राजनीतिक क्रियाकलापमा व्यस्त छन । सामान्यतः पिता मन्त्री हुँदा सन्तानहरुमा बढ्ने सत्ताशक्तिको चुुरीफुरी नेपाली सत्ता राजनीतिको एक अघोषित परम्परा जस्तै हो । तर निर्मल महरा, एटम त्यसका अपवाद हुन । कर्म क्षेत्र दाङमा खेती किसानी, राजनीति र सामाजिक कर्ममा क्रियाशील एटम माओवादीका युवा नेता त हुन नै, पार्टीका शक्तिशाली पूर्व महासचिव तथा वर्तमान अर्थमन्त्री कृष्णबहादुर महराका पुत्र  पनि हुन । मन्त्रीको छोरा भन्दा बढी पार्टीको वफादार पूर्णकालिन सिपाहीका रुपमा आफूलाई प्रश्तुुत गर्दै एटमले खरीबोट डटकमका पत्रकार एसवी खड्कासँग युद्धकालिन र सत्ताकालिन परिवेशको चिरफार गरेका छन । समय सान्दर्भिक तथा युवावर्गमा अनुकरणीय बिषय भएकाले यो कुराकानी खरिबोट डटकमबाट यहाँ साभार गरिएको छ । प्रश्तुत छ माओवादीका युवा केन्द्रीय नेता निर्मल महरा, एटम सँगको कुराकनी ।

के गर्दै हुुनुुहुन्छ आजकल  ?
राजनीतिलाई केन्द्रमा राखेर जनताका बिकास निर्माणसँग सम्बन्धित कामहरु गर्ने गरेको छु, बाँकी खाली समयमा कृषि तथा आफुले जाने बुझेको ब्यवसाय गर्ने गरेको छु ।

पूर्व लडाकु समेत रहनुु भएको तपाई पार्टी नै सत्तामा भाका बेलामा व्यस्त नै हुनुुहोला नी ?
पार्टी सत्तामा छ र सरकारको जिम्मेवारीमा रहनुभएका कमरेड साथीहरु ब्यस्त नै हुनहुन्छ । म सत्ताको कामतिरभन्दा पनि पार्टी, जनता र आफ्नो काममा ब्यस्त हुने गरेको छु । त्यो युद्धकालिन संघर्ष र हालको सत्ताकालिन दैनिकी वीचको अनुभव, अनुभुति हाम्रा पाठकसामु शेयर गरिदिनुहोस न । अनुभब त आकाश जमिनको फरक छ । जनयुद्धकालमा हामीले वर्ग दुश्मन किटान गरेका थियौ र दुश्मनसंग आमने सामने भिड्ने गर्दथ्यौ । हारजित अगाडि नै फाइनल हुन्थ्यो । आफ्ना जनता हुन्थे, सबै स्पष्ट हुन्थ्यो ।

13254456_1339977559349328_1204831624450978029_nआज आफ्नो र अरुको छुट्याउन निकै गार्हो छ । राजनीतिको जालझेल, शत्रुता, इमान्दारिता सबै कुरो कुटनीतिभित्र लुकेको छ । युद्ध अप्रिय थियो, त्यो सत्य हो । तर प्रष्ट, इमान्दारिता र विश्वासिलो परिवेश त्यहाँ थियो । आजको राजनीतिमा धोका, जालझेल, अविश्वास षडयन्त्र र निराशा बढी देखिराख्या छु मैले । जुन उदेश्यले तपाईले हतियार उठाउनु भाथ्यो र जुन परिस्थितिमा हतियार बिसाउनुभो , त्यसवीचमा के त्यो उदेश्य पुरा भो त ?

पार्टीले उठाएका अन्तिम लक्ष्य र हाम्रा आदर्शका हिसाबले हेर्दा हतियार बिसाउनु अपुरो अधुरो देखिए पनि सत्य कुरो त्यसो होइन । हाम्रा अगाडिका सफलताहरु सबै शशस्त्र जनयुद्धकै देन हुन । राजतन्त्रको लामो इतिहास अन्त्य गरेर गणतन्त्र नेपालको स्थापना हुनुमा पक्कै सशस्त्र जनयुद्धको ठुलो भुमिका छ । यसमा हामी गर्व गर्छौ । हामी अहिले पनि आफ्नो लक्ष्यमा बिचलित भएका छैनौ । राजनीतिले फरक कोर्ष अवश्य लिएको छ । तर हाम्रो लक्ष्य मेटिएको छैन । हतियार उठ्नु र बिसाईनु एउटा घटनाक्रम मात्र हो । मुख्य कुरो राजनीति केन्द्रबिन्दु हो, माओवादी आन्दोलन अहिले पनि नेपालको राजनीतिको केन्द्रबिन्दुमा छ ।

भर्खर उत्तरी छिमेकी चीन घुमेर फर्कनु भो क्यारे । के कति कामले जानुभाथ्यो ?भ्रमण उदेश्य पुरा भो त ?

नेपालको सन्दर्भमा मुख्यगरी आर्थिक क्षेत्रमा विशाल उत्तरी छिमेकी चीनले खेल्न सक्ने भुमिकाको बारेमा छलफल गर्ने गैरराजनैतिक भ्रमण थियो त्यो । नेपालको तर्फबाट गैरसरकारी संस्था र मिडियाका साथीहरु गरी हामी २० जना जति थियौ भ्रमणमा । म ग्रामिण वातावरण शिक्षा तथा संरक्षण केन्द्रको अध्यक्षको हैसियतले सहभागी भएको थिए । हामीलाई आमन्त्रण चाइना फाउन्डेशन फर पिस एण्ड डेप्लपमेन्टले गरेको थियो । भ्रमणको मुख्य उदेश्य नेपालको सान्र्दभिक विकासका लागि चीनमा फिल्ड अध्धयन र अन्तक्रिया नै थियो, भ्रमण अत्यन्त राम्रो भयो ।

13177155_1338716666142084_9148096980569384210_nमाओवादी नेताहरु प्रायः जनयुद्धकालमा भारतमा हुन्थे, शान्ति राजनीतिमा आएदेखि धेरै चीन भ्रमणमा नै जान्छन । किन हो ?

यो अत्यन्तै फरक प्रसङ्ग हो भन्ने लाग्छ मलाई । भौगोलिक, सांस्कृतिक र सामाजिक रुपले भारत हाम्रो निकट छिमेकी राष्ट हो । नेपाली जनता र भारतीय जनताका बिचमा उच्च स्तरको न्यानो र हार्दिक सद्भाव छ । त्यसैले हिजोको युद्धकाल होस या आज खुल्ला परिवेशमा नै किन नहोस, हाम्रो जनस्तरको संवन्ध विशेष छ । लाखौ नेपाली हिजो पनि भारतमा थिए आजपनि छन, युद्धको विशिष्ट कारणले हिजो माओवादी नेताहरु भारतीय भुमिमा रहेका नेपाली जनताको वीचमा बसेका थिए, भारतीय जनताको वीचमा बसेका थिए, भारतीय शासकको संरक्षणमा होइन ।

जहाँसम्म चीन भ्रमणको कुरो छ, यसमा चीनको आफ्नै डिप्लोम्याटिक पोलिसी हुनसक्छ, चीनले आफ्नो आर्थिक विकास तथा दुुई देशको जनस्तरको सम्बन्धलाई नयाँ उचाईमा उठाउन खोजेको देखिन्छ, जुन कुराको कुटनैतिक सम्बन्धबाट चीनले बिस्तार गरेको हुनसक्छ ।

शान्ति राजनीतिमा आएदेखि माओवादी गुुट, फुट र एकतामा रुमल्लिएको देखिन्छ । यो त जनतालाई धोखा भएन र ?

अवश्य पनि कमजोरीहरु भएका छन, भ्रमहरु उत्पन्न भएका छन, अविश्वासहरु पलाएका छन । जनता र पार्टीको सम्बन्ध पातलिएको छ यसलाई हामीले सुधार गरेर जानु पर्छ ।

पार्टीको समग्र वर्तमान अवस्थाबाट संतुष्ट हुनुहुन्छ ?

हामीले जनतालाई बाँडेका सपनाहरु पुरा भएका छैनन,राजनैतिक एजेण्डाहरुले सार्थकता पाएका छैनन । शान्ति प्रकृयाका सबै काम पुरा भएका छैनन । शहिद र घाइते योद्धाहरुको सपना अधुरै छ । तमाम युद्धकालिन कार्यकर्ताको ब्यबस्थापन निकै कष्टप्रद अवस्थामा छ । यसका अलवा राजनैतिक कोर्ष अत्यन्तै अस्थिर बन्दै गैरहेको छ । यी सबै सवालमा पार्टीको प्रष्ट धारणा नबनेसम्म के हेरेर चित्त बुझाउनु र ?

तपाई त देशका एक शक्तिशाली अर्थमन्त्रीको छोरो ? कस्तो अनुभव हुँदै छ त ?

अर्थमन्त्रीको छोरा हुनुको मज्जा कस्तो हुन्छ थाहा भएन, हिजो जस्तो थिए म आज उस्तै छु ।

के के रहेछन मन्त्रीको छोरो हुुनुुका फाईदाहरु ?
13237771_1339690026044748_7706394814324902948_nमानिसहरुसँगको सम्बन्ध अलि बढी बिस्तार हुन्छ । काम गर्ने अनुभवहरु बृद्धि हुन्छन । ढंग पुगे राजनैतिक करियर विकास गर्न पनि सहयोग नै पुग्छ जस्तो लाग्छ ।

अनि बेफाईदाहरु के के रैछन नी ?

एउटा स्वतन्त्र नागरिकको जीवन अनुभव गर्न नपाइदोरहेछ । मन्त्री, नेता र तिनका परिवारका साना कमजोरीहरु विशाल बनाइन्छन, आलोचना, वेइज्यति, पीडा अलि नै बढी नै खेप्नु पर्छ ।

साँच्चै मन्त्रीका छोराका दुुखहरु पनि हुदारैछन की ?

जनताका छोराछोरी जस्ता हुन्छन मन्त्रीका छोराहरु पनि त्यस्तै हुन । त्यसैले तिनिहरुका दुख पनि समान हुन्छन ।

तपाईले मन्त्रीको छोरा भएकै कारण झेल्नुभएका दुखका प्रसंगहरु हम्रा पाठकसामु शेयर गरिदिनुहोस न ?

मैले माथि पनि भनिसके कि स्वतन्त्र नागरिकले जिउने जीवनभन्दा अलिबढी बन्चित जीवन हामीले जिएका छौ । राजनीतिमा सक्रिय भएर पनि आफ्ना अभिव्यक्तिहरुमा सेन्सर लगाएर बोल्नु पर्ने, कयांै परिस्थितिहरुको सामना मैले आफै भोगेको छु । उठ्दा, बस्दा, खादा समेत दुनियाँको निगरानीमा बिताएका धेरै क्षणहरु छन, अहिले पनि त्यही हो मनले इच्छ्याए जस्तो छैन जीवन ।

हामीकहांँ मन्त्री हुनु वा मन्त्रीको परिवारको सदस्य हुुनुलाई ठूलै भाग्यमानी मानिन्छ । तपाईको अनुभुति चाहि कस्तो रहयो नी ?

हैन, भाग्य केलाई मान्ने ? जुन मन्त्रीका छोराछोरी मन्त्रीकै छोराछोरी भएको नाताले विदेशमा उच्च शिक्षा लिएका छन, फ्रि स्कलरसिप पाएका छन, मन्त्रीकै छत्रछायाँमा उच्च विजनेसहरु संचालन गरेका छन, त्यसरी भाग्य चम्काउनेहरु पनि छन त्यसमा मेरो भन्नु केही छैन । म ती सबै अवसरहरुभन्दा भिन्नै तरिकाले जीवन बिताइरहेको मन्त्रीको छोरा हुँ । हिजो छापामार थिए, आज पोलिटिकल छु । बसाई मेरो स्वतन्त्र छ , मन्त्रीको छोरा हुँदा र नहुँदाको फरक मैले पाएको छैन ।

खर्चको व्यवस्थापन कसरी गरिदोरैछ । के गर्नुहुन्छ नी तपाई ?

पारिवारिक बाहेक ठूूलो खर्च गरेर गर्नु पर्ने काम मेरो त्यस्तो हुदैन र छैन । कृषि पेशा र ब्यवसायबाट नै निर्भर हुन्छु । त्यो बाहेक एक्सपोर्ट इम्पोर्टको साझेदारी कम्पनी छ । नेपालबाट पैठारी हुने जडिबुटी, च्याउ, बिक्री गर्ने र बाहिरबाट भित्रिने सामानहरु नेपालको मार्केटमा बिक्री गर्छु, त्यसरी नै चल्छ खर्च ।

अनि तपाई मन्त्रालय कत्तिको बस्नुहुुन्छ नी ?

म मन्त्रीको सचिवालयभित्र छैन, त्यसैले म मेरो आफ्नो कामको बेला बाहेक मन्त्रालयमा जादिन ।

कस्ता कस्ता मान्छे सम्पर्कमा आउदा रैछन ?

सर्वसाधारणदेखि उच्च राजनितीज्ञ, कुटनीतिज्ञ, व्यापारी सबैसंग भेट हुन्छ ।

नढाँटी भनिदिनुस त पिताको पदमा छोराको हक जमाएर कति काम गर्नु गराउनुभो ?

मैले जे जस्ता काम गर्छु, त्यो काममा पिताको पदको आयश्यकता नै पर्दैन । म आफैले गर्छु, पिताकै पद च्यापेर अहिलेसम्म कुनै काम गरेको छैन । अन्य नीतिगत कामहरु मन्त्रीले आफै गर्ने हो, छोराले हैन ।

पिताको पदमा हुदां र नहुदाको अविभावकत्व वा व्यवहारमा कत्तिको भिन्नता हुदोरैछ नी ?

जनयुद्धको शुरुवातसंगै मैले पिताकोभन्दा राजनैतिक अविभावकको माया बढी पाएको छु । त्यसो हुँदा हामी पारिवारिकभन्दा साथी जस्ता अलि बढी छौ ।

तपाई दाजुुभाई कत्तिको मिल्नुुहुन्छ नी ?

दाजुभाइको पनि त्यस्तै पारिवारिकभन्दा राजनैतिक खालको सम्बन्ध छ, आफना कुराहरु त शेयर गर्छौ नै ।

पिताले भाईलाई धेरै माया र साथमा राख्दा तपाई अलि टाढा पारिनु भा छ रे ? सत्य हो ?

त्यो बेठिक कुरा हो, बुबाले गर्ने माया हामी सबैलाई एउटै देख्छु । म अहिले पार्टी कामको जिम्मेवारीले राजधानीभन्दा बढी जिल्लामै बस्छु । त्यसरी टाढा नजिक देखिएको होला ।

आगामी दिनहरु कसरी बिताउनुहुनेछ ? मतलब के मा सक्रिय हुनुहुनेछ ?

मेरा आगामी दिनहरु राजनैतिक नै हुन्छन, राजनीतिलाई टेवा पुग्ने ब्यवसायमा पनि हात हाल्छु ।

अबको एटमको उदाहरणीय कर्म के हुनेछ ?

आगामी दिनमा राजनीतिमा देखिएको बिकृतिको अन्त्य गर्ने कुरा नै मुख्य सोच हुन्छ मेरो । त्यसका अलवा छुटटै सामाजिक फोरम बनाएर जनताको सेवा गरिराख्ने सोच पनि छ ।

बाँकी युवा पुस्तालाई तपाईको सल्लाह र सुझाव केही छन की ?

युवाहरु अब कतै पनि नअलमल्लिकन आर्थिक विकासको बाटोमा क्रियाशिल हुनुपर्दछ । त्यसको लागि श्रोत, साधनको खोजी र सत्तापक्षलाई खबरदारीमा केन्द्रित हुन जरुरी छ ।

अन्त्यमा हाम्रो मिडिया मार्फत  थप केही कुरा भन्न छुट्यो की ?

आफना कुराहरु राख्ने मौका दिनु भएकोमा यँहालाई धेरै धेरै धन्यबाद ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*