देवकोटा … केही फ्ल्यासब्याक

शङ्कर लामिछाने 

बम्बई । राजभवन । राज्यपालको बैठक । झ्यालमुन्तिरै समुद्रको लहर छाल मार्दै छ । हामी चियालाई निम्ताइरहेका छौँ ।
‘श्रीप्रकाशजी, यो घर त एक कविलाई सुहाउँदो रहेछ !’
‘किन ?’
समुद्रको छेउ । यहाँ बस्यो भने कविता त्यसै बन्छ । बगिरहेको पानी हेरेर कहिले पनि कोही अघाउँदैन !…
मद्रास । समुद्रतट । देवकोटा, घिमिरे र म । जुत्ता मोजा फुकाली हामी किनारामा पल्टेका छौँ । देवकोटाले समुद्रको आचमन हामीलाई गराइसके ।
hqdefault‘शङ्करज्यू, तपाईंलाई समुद्रको पानीको स्वाद थाहा छ ?’
‘नुनिलो हुन्छ नि !’
‘कति नुनिलो ? चाख्नु भएको छ ?’
‘अहँ !’
‘लौ खानुस् ! फेरि के थाहा कहिले पाइने हो !’
अञ्जुलीमा ओसारेको पानी चाख्न म आफ्नो मुख बहाइदिन्छु । उनी एक अञ्जुली पानी मुखभरि हालिदिन्छन् । निश्चय नै पानी निकै नुनिलो छ । बुढेसकालमा आशुँको स्वाद झैँ ।
हामी हाँस्छौँ ।
हामी यसरी पल्टेका छौँ, एक–एक छिनमा पानीको लहर आउँछ र पाइताला पखालेर जान्छ । हामी गफ गर्दैछौँ । आकाशमा चन्द्रमा उदाउन थालेका छन् । दृश्य साह्रै राम्रो छ । तर, अब जुन लहर आयो नि त्यसमा अलि बढी गति छ, त्यसले हाम्रो कम्मरसम्मै पखाल्न पुग्छ ।
हामी झन् हाँस्छौँ ।
मद्रास कलकत्ताको रेलयात्रा । एउटै कम्पार्टमेन्ट । ४८ घण्टा कसरी काट्ने हँ ? बाहिर हेर्यो रेल लाइनसँगै कमल लटरम्म फुलेको पोखरीमा ताँती, मिलौँ लामो । सौन्दर्यको एकनासेपनले अघाइन्छ ।
‘आउनुस् घिमिरेज्यू खेल खेलौँ ।’
‘के खेल ?’
‘हामी चार जना छौँ । एक एक पङ्क्ति कविता भनौँ ।’
‘कुन कविता ?’
‘जुनसुकै होस् ! सम्झेको, पुरानो, नयाँ, नभए बनाउँदै भनौँ ।
‘हवस !’
‘शङ्करजी, सुरु गर्नुहोस् ।’
‘कोल्पुको कलकल जलमा…’
तर जुन कविता बन्यो त्यो भने कुञ्जिनीको छायाँसम्म बन्न पाएन ।
एक डिनर । पानी झमझम परी भर्खर बिसाएको । १०–१२ तिर हामी बाहिर निस्कन्छौँ । आकाश निर्मल छ । तारा, तारा !!
‘गुरु, तपाईं कसरी ? हिँडेर आउनु भएको ?’
‘हो !’
‘हिँड्नुस्, म पुर्याइदिन्छु !’
‘भैहाल्यो, म हिँडेर जान्छु । यस्तो रातमा यो वेदरमा हिँडेनु मज्जा छ ।’ – कालो ओभरकोट लाएको, सल्किरहेको चुरोट समातेको हातले आकाश आकाश देखाउँछ ।
चुरोटको चमक अर्को एक तारा बन्छ – तारा ताराको आकाशमा ।
भोलिपल्ट यी तारा आकाशबाट कागजमा यसरी झर्दछन् –
‘दुई शत कोटि दृगकन पारी कुबेर,
पुजारी, व्योमश्री !
दर्शन देउ ! मोती–फूलको स्वर्गको बारी
ढकमक पारी,
मूक बनाई, सौतागी !
आश्चर्यमौन छन् विद्युन्माला
परिमण्डित रे
भू-नगरी !
वाष्पिल अनिल छ निश्चलः जिल्ल,
जादू, स्नज
भै, हाइ सगरी !
रुन्छ जगतको आत्मा, पातमा प्रेम गरी !
जलकण तारा झिलमिल पुष्कर
टोल्हायो !
शान्ति परीले पोल्टो थपाइन् उसलाई,
टुहुराई, रत्नहरुको शोला यो !’…
हुस्सु लागेको बिहान । एउटा मन्त्रीको मोटर ढोकामा आउँछ । घरमा हल्लिखल्ली मच्चिन्छ गार्डले बोलाउन आउँदा (अक्सर मेरो घरमा बिहानैपख मन्त्री आउँदैनन् !)
बाहिर जान्छु ।
‘आउनुहोस्, घुम्न जाउँ, छाउनीतिर !’
मोटर छोडेर हामी छाउनीको म्यूजियमको बाटोमा टहलिन थाल्छौँ ।
‘नयाँ ठाउँमा खुसी नै हुनुहुन्छ ?’
‘खुसी नै छु !’
‘सुखी नि ?’
‘जे सोचेको थिएँ, त्यो गर्न सकिनँ !’
‘के सोच्नुभएको थियो ?’
मलाई कवि भनेर मानिसले एडमिनिस्ट्रेसन गर्न सक्दैन भन्ने शङ्का गर्थे । त्यो निवारण गरिदिन्छु भनेको । यस्तो रेड ट्यापिजम छ, के भन्नु ।’
‘कविता त बन्द भयो होला ।’
‘प्रायशः !’
‘किन ?’
‘मानिसले फुर्सद दिए पो । दिक्क लाग्छ । उम्केर आएको एकान्तमा तपाईंसित मनका कुरा गरुँ भनेर !’
बागमतीको किनारा । आर्यघाटको सत्तल । देहावसानको दुई दिनअघि । सहाय, सुमन र म जान्छौँ । अन्तिम दर्शन गर्नेहरुको ताँती छ । जाने अनुहारमा उत्सुकता, फर्कने अनुहारमा आँशु । हामी कोठामा बस्छौँ ।
यही हुन् ती देवकोटा ? उनीतिर हेर्दा दुई विशेष कुराले हाम्रो दृष्टि चिथोर्छ बेसार घोप्टिएका आँखाका साकेट, र तन्किएको गालाले छोप्न नसकेका दाँत ! एक पर्पेचुअल प्रोट्र्याक्टेड हाँसो ! त्यस हाँसोमा देवकोटाको तेज छैन, छैन त्यसमा स्पन्दल, न छ त्यसमा अरुलाई प्रभाव पार्ने क्षमता ! स्वागत गर्ने इच्छामा हात ओछ्यानमा घिस्रिने प्रयास गर्दछ । (एउटा घाइते मरणासन्न वीर गोर्खाली रुखको छाहारीतिर घिस्रे जस्तो ?!) सहाय हत्केलालाई हातबीच राख्दछन् ।
‘कस्तो हुनुहुन्छ ?’
‘अब त जाने बेला भो, सहायजी !’
‘जान कसलाई पर्दैन, देवकोटाज्यू, अघिपछिको कुरा मात्र हो !’
‘जानमा मलाई केही अपसोच छैन, सबै जान्छन् ठीक हो र तर यो वेदना, यो असह्य छ । आह, यो क्यान्सर पीडा ।
प्रमिथसलाई सम्झिरहेछु । मेरो लिबर चिथोर्दै छ, यसरी के बाँच्नु ? मैले कत्ति भनेँ, अब मलाई विष देओ, म सुखले मर्छु, कोही मान्दैनन् ।’
सहाय हात थपथपाउँछन् र दृष्टि छल्न बाहिर हेर्छन् ।
‘यो खाट मैले अग्लो बनाउन लगाएको । अक्सर उता फर्किन्छु र त्यो बागमतीको पानी बगिरहेको हेरिरहन्छु । मनलाई शान्ति मिल्छ ।’
ठीक हो, झ्यालको टेबुलमा राखिएको सिरानबाट पल्टीपल्टी नै बागमतीकाृ प्रवाह देखिन्छ । पानी बगेको उनलाई मनपर्छ, बम्बईको राजभवन, मद्रासको सागरतट ।
‘स्वच्छन्दी जल कमरबन्दी टुट्छ डाँडा बेली,
सेती नागिनी सागर लागिन्, हाम फाल्दिछु खेली,
…खेतलाई पन्छाई दुइटा हातले पौडेँ भूतल भेली,
बाँकटे ली दृश्यपटमा, लहर करले ठेली…’
‘सरिताको छ सागर रोदन
एक सुनौलो सन्ध्या पछाडि,
खोजी, खोजीः पौडिरहेछ जलमा क्रन्दन,
जलमा क्रन्दन !
अबोला नशा छ चिहान सरी यो,
कब्र उपरका क्रन्दन सरी,
आँशु विन्दिव स्वर्ग भरी रे
स्वर्गभरी !’
(यति मात्र हो तिम्रा बाहु अब विष्णुमती झैँ सबल रहनेछन् यत्ति हो, तिम्रो वागमतीवारि कुनै ताजमहल बनेन ।)
‘वागमतीको प्रवाहले एकछिन यो कष्टलाई पखालिदिन्छ जीवनको अन्तिम घडीको सौन्दर्य हेरेरै मर्न चाहन्छु ।’
‘हामी केही गर्न सक्छौँ कि ?’
‘तपाईंहरुले धेरै गर्नुभयो । मैले बरु केही गर्न सकिनँ । जेजति लेखेँ त्यो त आज आएर अनुभव हुँदैछ सब बाटो पैलाउन गरेको अन्धप्रयास मात्र थियो । जीवनको यस बेला आएर पो म जीवनको अर्थ बुझ्दैछु । आज मैले लेख्नसकेँ, आजको यो ज्ञान मात्र लिएर दुई वर्ष अरु, बाँच्न पाएः अनि मैले लेखेको चीज केही हुने थियो । आह ! मुख सुक्यो, एक टुक्रा बरफ।’
थरमसबाट बरफको टुक्रा झिकेर मुखमा हालिदिन्छु । त्यो टुक्रा जिब्रोको तालमा मुखमा नाचिरहन्छ ।
‘जीवनको अन्त्यमा शायद जीवनको पर्सपेक्टिभ आर्कै हुन्छ, देवकोटाज्यू ! तपाईंको जीवनप्रतिको यो प्रेम नै पूर्ण जीवनको द्योतक हो । मलाई खुसी छ, जीवनलाई अझ उपयोग गर्ने आकाङ्क्षा तपाईंमा मरेन । शायद यही अन्त्य सबभन्दा बेश हो कि !’
‘आदि र अन्त हामी के जानौँ, सहायज्यू तपाईंलाई थाहै छ –
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तानि धनान्यैव तत्र का परिवेदना ।।….’
(शङ्कर लामिछानेको परिचयात्मक निबन्ध सङ्ग्रह ‘बिम्ब–प्रतिबिम्ब’ बाट साभार)

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*