ज्यानमारा सडक : दसैँमा घर जाउँ कि नजाऊँ ?

yamuna-g

यमुना अर्याल

दैनिकजसो भइरहने दुर्घटनाका खबरले गाउँमा रहेका आफन्तको मन भत्भती पोल्न थालेको छ । नजाउँ भने वर्ष दिनको चाड, जाउँ भने बाँचिन्छ भन्ने ग्यारेन्टी छैन । ए ज्यानमारा सडक तँ आफैँ बताइदे, यो दसैँमा म सद्धे घरमा पुग्छु र सहर फर्किन्छु कि फर्किन्न ? राजमार्ग नभएर कालमार्गका रुपमा चिनिएको त्रिशूलीको किनारामा यात्रा गर्ने हरेक नागरिकको मनमा यो प्रश्न तेर्सिने गरेको छ । अस्ति हराएकाको अत्तोपत्तो छैन, फेरि आज अर्को दुर्घटना अझ कति सुन्नुपर्ने हो ?

महान् चाड दसँै भित्रँदै छ, यस्ता मृत्यु र दुर्घटनाका समाचार त कति सुन्नु र भोग्नुपर्ने हो त्यो हामी यात्रुलाई घामजत्तिकै छर्लंग छ । वर्ष दिनको चाड हो, आफ्ना आमाबाबु भेट्न, सँगै चाड मनाउन नजाउँ भने पनि मनले मान्दैन, जाउँ भने मनले के–के सोच्छ के–के । आफ्ना निजी सवारीसाधन, थोरै यात्रु र आफ्नो गतिमा हुँइक्याउने ठूलाबडाको त यस्तो दुःखद समाचार यही सडकमा बन्न पुग्यो भने गुन्दु्रकजसरी छतमाथि र तल खाँदिएर हिँड्ने, तीव्र गतिमा गुडाउने सन्काहा चालकको हात परेको गाडीमा चढ्ने हामी यात्रुको हालत के होला ? सम्झँदा पनि जिउ सिरिङ्ङ हुन्छ ।

दसँै होइन दशा भन्ने बूढापाकाको उखान धेरै हदसम्म सत्य रहेछ । पूर्वगृहमन्त्री माधव घिमिरेको परिवारमा दशा भित्रियो, त्यो पनि कहिल्यै बिर्सन नसक्नेगरी । सडकले उनीजस्ता महान् व्यक्तिलाई त छाडेन भने हामी सर्वसाधारणलाई छाड्ने त कुरै भएन । हरेक क्षण हामी मृत्युको सन्त्रासमा बसेर यात्रा गनुृपरिरहेको छ । अझ चालक केही कारणले यात्रुसँग रिसायो भने त मुटु ढुकढुक गर्न थाल्छ, कतिबेला कहाँ लगेर खसाल्छ भनेर । चालकको हातमा अडिएको जिन्दगीको के भरोसा ? भगवान्भन्दा पनि चालक दाहिना भए बाँचिन्छ नत्र कतिबेला कहाँ के भइन्छ पत्तो छैन ।

त्रिशूलीको पछिल्लो आहारा घिमिरेको परिवार बन्यो । यसअघि धेरै परिवारको खुसी यही पापी त्रिशूलीमा विलीन भएको छ । त्रिशूलीको भेलभन्दा बढी आफन्तका आँसु बगेका छन्, तैपनि त्रिशूलीले सर्वसाधारणदेखि गन्नेमान्ने व्यक्तिसम्मलाई निल्न छाडेको छैन । दसैँको बेलामा त्यही त्रिशूली हुँदै यात्रा गर्ने हामी यात्रुले कसरी बसमा खुट्टा चढाउने ? बसमा चढेका हाम्रा खुट्टा उस्तै चलायमान हुँदै घरसम्म पुग्लान् त ? कतै …..सोच्न पनि डर लाग्छ । तर पनि त्रिशूलीको बाटोभन्दा अर्को उपाय छैन, घरसम्म जानका लागि । जति अपराधी भए पनि त्यही खोलाको दाइना लागेर यात्रा गर्नुपर्छ । कमसेकम त्रिशूलीकिनारमा गाडी पल्टिन नसक्नेगरी बारबेर गर्ने हो भने दुर्घटना भइहाले पनि मान्छे नै बेपत्ता हुने, ठुल्ठूला बस, ट्रक नै बेपत्ता हुने अवस्था आउने थिएन । आमसर्वसाधारणका लागि राजमार्ग होइन, कालमार्ग बनेको छ सडक र त्रिशूलीको यात्रा ।

नियतिभन्दा ठूलो केही होइन, भवितव्य जहाँ जसरी जतिबेला पनि हुन्छ तर हामीकहाँ नियतिभन्दा पनि जानाजान धेरै दुर्घटना हुने गरेका छन् । गुडेर बाँचिएलाजस्तो लागेन भन्यो महँगो पैसा तिरेर उडेर यात्रा गर्नेको अवस्था झन् कहालीलाग्दो छ । कहाँ, कतिबेला शवसम्म पनि चिन्न नसक्ने अवस्था फित्रिक्कै खसिन्छ केही ठेगान छैन । केही दिनअघि प्लेनका लागि काटेको टिकट रद्द गरेर एकजना हजुरआमाले गाडीको यात्रा गरिन् । सबैले उनलाई गाली गरे, ‘काल खोजेर यी बूढी आमै, खुरूक्क प्लेनमा गएको भए चाँडै आनन्दले पुगिन्थ्यो नि । बुद्धि नपुर्याएर हामीलाई यो सकस ।’ तर, बूढी आमैले यति भावुक उत्तर दिइन्, त्यसपछि कसैको बोल्ने ठाउँ रहेन । ‘हेर छोरा हो, तिम्ले चित्त नदुखाउ, म रहरले बसमा जान लागेको होइन, यदि प्लेनमा गएँ र कहीँ ठोकिक्यो भने मेरो शव पनि चिनिदैन । कमसेकम बसमा गएँ भने मरिएछ भने पनि शव त चिनिन्छ नि । कालो ठुटो हुनुभन्दा त बस पल्टिएछ भने पनि यही हो मेरी आमा भनेर चिन्न त सक्छौ नि धेरै सोँचे त्यही भएर बसमा जाँदै छु ।’ ती आमाले यथार्थ बोलेकी हुन्, नराम्रो नबोल्नू भन्दै छोराहरुले उनलाई कराए । तर, हामी सर्वसाधारणको वास्तविकता यही हो ।

काठमाडौंमा अध्ययन गर्ने गाउँका छिमेकी दुई दाजुभाइ, दुई बहिनी घरबाट बिदा भएर एकैपटक निस्किए पनि उनीहरु कहिल्यै एउटै बसमा यात्रा गर्दैनथे । एकैठाउँबाट एउटै गन्तव्यमा जाने भए पनि उनीहरु फरक–फरक बसमा चढ्थे ? सधैँ यही प्रश्न मनमा खेल्थ्यो । चार छोराछोरी चार गाडीमा गुल्मीदेखी काठमाडौँ हानिन्थे । आमा बुवालाई कुन छोराछोरी कहाँ पुगे तनाव हुन्थ्यो । पूर्वगृहमन्त्रीका परिवारका सदस्य एउटै दुर्घटनामा परेपछि भाइले भन्यो, ‘यही हुन्छ भनेर हामी चारजना छोराछोरी कहिल्यै एउटै गाडीमा हिड्दैनौँ । हाम्रो सडक यही हो । सवारीसाधनको गति यही हो । यति ठूलावडा गन्नेमान्नेका मान्छे आफ्नै निजी गाडीमा यात्रा गर्दा त यो हालत हुन्छ भने हामी मर्दा कमिला मरेसरह हुन्छ । चारजनाको गाडी एकैपटक पक्कै दुर्घटनामा नपर्ला, कमसेकम एकजना मरे पनि अरु तीनजना बाँच्छन् भन्ने लाग्छ । त्यही भएरै हामी चारवटा गाडीमा आउ–जाउ गर्छौं ।

आफ्नो निजी सवारीसाधनमा यात्रा गर्ने भीआईपीले काल बनेको यो सडक हामी सर्वसाधारणका लागि त पाइला–पाइलामा काल हो भन्दा फरक पर्दैन । यो आजको समस्या होइन, सरकारले चाहने हो र समयमै बुद्धि पुर्याउने हो भने गर्न सकिने धेरै छ । तर, यहाँ त ठूलाबडा मरेपछि चर्चा हुन्छ, सर्वसाधारण मर्दा चरा–मुसा मरेजत्तिको पनि हुँदैन । देशले चिनेको लब्धप्रतिष्ठित व्यक्तिको सिंगो परिवार निल्ने त्रिशूली नदीमा दुर्घटना रोकथाम गर्ने दीर्घकालीन तारजाली लगाउनसमेत सरकारले सक्दैन । अनि दिनैपिच्छे नागरिक त्रिशूलीमा बेपत्ता हुन्छन्, कत्तिको शवसम्म भेटिएला । कत्तिको त त्यही पनि भेटिँदैन । आखिर यो नियत कहिलेसम्म भोग्नुपर्ने हामीले ?
मर्ने कसैलाई रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने प्रहर हुँदैन ।

डा. कृष्णहरि बरालले सायद कहालीलाग्दो वास्तविकतालाई आफ्ना शब्दमा उतारेका रहेछन् । हरेक दिन, हरेक क्षण दुर्घटना, हत्या हिंसा र मृत्युका समाचार सामान्य बन्न थालिसके । सडक दुर्घटनाका कारण सुरक्षित यात्राका लागि महँगो रूपैयाँ तिरेर आकाशको यात्रा गर्दा पनि धर छैन । कतिबेला जहाजमा के ठोक्किन्छ, कहाँ मौसम बाधक बनिदिन्छ । कहाँ जहाजको इन्जिनले काम गर्न छाड्छ । अनेकन् त्रासका कारण यात्रा गर्नुपरिरहेको छ । यात्रामा निस्कँदा गन्तव्यमा पुगिन्छ कि पुगिँदैन, पुगेपछि सकुशल फर्किन्छ कि फर्किंदैन भन्ने धुकचुकसाथ यात्रा गर्नुपरिरहेको हुन्छ । हामी सर्वसाधारणले आनन्दले यात्रा गर्ने दिन कहिले आउला ?

रातोपाटीबाट साभार 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*