मदनपुरस्कार विजेता कथा संग्रह ‘ऐना’ बारे यसो भन्छन लेखक रामलाल

डोटीमा जन्मिएका रामलाल जोशी धनगढीमा बसेर साहित्य साधनामा लागेको लामो समय भयो । तर, गत वर्ष प्रकाशित कथासंग्रह ‘ऐना’ मदन पुरस्कार र पद्मश्री पुरस्कारका लागि मनोनीत भएपछि मात्र  यसका लेखक जोशी चर्चामा आए । मंगलबार मदन पुरस्कार गुठीले यही कथासंग्रहलाई मदन पुरस्कार दिने निर्णय ग-यो । गुठीको निर्णय आउँदा रामलाल धनगढीमै थिए । ‘उत्साहित छु,’ उनले फोनमा भने, ’अत्यन्त खुसी लागेको छ ।’ नयाँ पत्रिकाका शिखर घिमिरेले जोशीसँग फोनमा कुरा गरेका छन् । त्यही कुराकानीको सम्पादित अंश यहाँ नयाँ पत्रिकाबाट साभार गरेर जस्ताको तस्तै राखिएकोछ ।

केही समयअघि ‘तपाईं त नेपाली साहित्यमा नयाँ सेलेब्रिटी हुनुभयो नि,’ भन्दा तपाईंले भन्नुभयो– यस्तो पनि होइन । अब त मदन पुरस्कार नै जित्नुभयो, सेलेब्रिटी त पक्का हुनुभयो नि, होइन रु कस्तो लागिरहेको छ ?
मोफसलका अनेक समस्या छन् । यी समस्याबाट म गुज्रिँदै आएको थिएँ । धनगढीमा बसेर साहित्य साधनामा लागिरहेकाले अरूजस्तै मलाई पनि मोफसलमा हुनुको आभाष हुनु स्वाभाविक हो । त्यसो त ऐना कथा संग्रह प्रकाशन गर्न काठमाडौं पुग्दा पनि मैले सहज र सुखात्मक अनुभूति गर्न पाइनँ ।
ramlal-511x330
यी सबै अवस्था भएकाले मलाई आफ्नो सिर्जनाले चर्चा पाउँदा र त्यसलाई धेरै पाठकले पढिदिँदा पहिलेदेखि नै खुसी लागेको थियो । जोजसले पढ्नुभएको छ, उहाँहरूले यसमा अत्यन्त राम्रो रेस्पोन्स पनि गर्नुभएको छ । यस्तो रेस्पोन्सका कारण म अत्यन्त खुसी भएको छु । त्यसमाथि मेरो यही कथासंग्रह देशका प्रतिष्ठित दुवै पुरस्कारको मनोनयनमा प¥यो । त्यसले पनि मलाई खुसी दिने नै भयो ।

मंगलबार म सुदूरपश्चिम साहित्य समाजले आयोजना गर्ने दसैँ मिलन कार्यक्रमको तयारीमा व्यस्त थिएँ । समाजकै अफिसमा हामी छलफलमा थियौँ । त्यहीवेला काठमाडौंबाट केही साथीले फोन गरेर बधाई दिनुभयो । सुरुमा त मैले मदन पुरस्कार पाएँ भन्दा पत्यार नै लागेन । तर, बिस्तारै सामाजिक सञ्जाल र फोनमा साथीहरूको बधाईको ओइरो आयो । मदन पुरस्कार गुठीले पनि आधिकारिक कुरा फेसबुकमा राखेको देखेँ । अनि बल्ल पत्यार भयो ।

पछिल्लो समय हाम्रो समाजमा सुधारका कुराभन्दा धेरै विकृति देखिएका छन् । समाज, राजनीति तथा लेखन पनि यस्ता नराम्रा पक्षबाट अछुतो रहन सकेको छैन । नेपाली राजनीतिजस्तै साहित्यमा पनि मोफसललाई काठमाडौं र त्यसमाथि सुदूरपश्चिमलाई पूरै देशले बेवास्ता गरेको स्वर सुनिन्छन् । यही अवस्थामा धनगढीमा रहेर साहित्य लेखिरहेको मलाई पुरस्कार दिनु खुसीको कुरा हो । त्यसैले पनि यो पुरस्कार मलाई मात्र होइन, यो स्थानका लागि पनि सम्मान हो ।

हो, तपाईं साहित्यमा ५० को दशकदेखि नै हुनुहुन्थ्यो । तर, गजल लेखिरहनुभएको थियो, त्यसैमा रमाउनुभएको थियो । एकाएक कथा लिएर आउँदा तपाईंकै साथीहरू पनि दंग परे । खासमा तपाईं साहित्यमा चाहिँ किन लाग्नुभयो ?
म ३/४ कक्षामा पढ्दाको कुरा हो । एकदिन मैले बुवाको डायरी फेला पारेँ । म ६ वर्षको हुँदा नै बुवाको स्वर्गवास भइसकेको थियो । त्यसैले पनि म उहाँका सामानलाई बडो स्नेहका साथ हेर्थें । त्यो दिन मैले बुवाको डायरी पल्टाएँ । डायरीमा कविता थियो– विद्यार्थी रानी ।

ramlal-1त्यही कविता पढेपछि मैले आफूलाई साहित्यमा डोयाएँ । कविता लेख्न थालेँ । नौ कक्षामा पुग्दा त मैले साहित्यिक भित्तेपत्रिका ‘सौगात’ निकाल्न थालिसकेको थिएँ ।

बिस्तारै मेरो समय पत्रकारितामा बित्न थाल्यो । तर, त्यो बढी साहित्यिक पत्रकारिता थियो । एकातिर म सम्पादनमा लागेँ भने अर्कोतिर कविता लेख्न पनि थालेँ । तर, त्यतिवेलासम्म गजलले राम्रो चर्चा पाइसकेको थियो । मैले पनि गजल लेख्न थालेँ ।

तर, समयक्रममा मलाई लाग्न थाल्यो– गजलले मानवजीवनको सम्पूर्ण पक्षलाई समेट्न सक्दैन । गजल झट्ट सुन्दा मीठो हुन्छ, त्यसमा एउटा रस हुन्छ, तर नलेखिएका जीवनका यावत् पक्षलाई गजलमा समेट्न सम्भव हुँदैन । त्यसैले मैले आख्यानलाई रोजेँ र यहाँ नलेखिएका पक्षबारे लेख्न थालेँ ।

मैले ७० सालको भदौबाट मात्रै यी कथा लेख्न थालेको थिएँ । दुई वर्षमा लेखेका कथाहरू ऐनामा समेटेको हुँ । ०७० सालको सुरुवातमै मैले बहिनीको वियोगलाई आत्मसात् गर्नुप(यो । बहिनीलाई मैले हुर्काएको थिएँ, उसको विवाह म आफैँले गराएको थिएँ । त्यही बहिनीको अन्त्येष्टीमा म सहभागी हुनुपर्दा म विक्षिप्त भएको थिएँ । कतिसम्म भने केही दिन म घरबाट बाहिर निस्किन पनि सकिनँ । त्यतिवेला मैले आफूलाई यो आख्यानमा पोखेँ ।

हो, ऐनाका कथाहरू मैले रहरमा लेखेको हुँ । यो मेरो प्रयास थियो, त्यही प्रयासले मलाई अब संवेदनशील अवस्थामा ल्याएको छ, म गम्भीर मोडमा आएको छु । अब म सुध्रेर थप राम्रो र ‘भर्जिन’ कथा लेख्ने प्रयास गर्नेछु ।

ऐनामा भएका १९ कथामा अधिकांश पीडाका कुरा छन् । सुदूरपश्चिममा पीडाबाहेक केही छैन भन्ने स्थापित गर्न खोज्नुभएको कि समाजको अर्को पक्षलाई साहित्यमा लेख्न जरुरी मान्नुहुन्न ?
अँध्यारोपछि उज्यालो पक्कै आउँछ । यो त प्रकृतिको नियम नै हो । अहिले अविकासको चपेटामा रहेको सुदूरपश्चिमले पनि भोलि पक्कै सुनौलो दिन पाउनेछ । तर, भोलिको त्यो उज्यालो आउनु भनेको हिजोको कथा नलेखिनु भन्ने पनि होइन । अहिले पनि नेपालकै अरू समाजसँग तुलना गर्ने हो भने सुदूरपश्चिम धेरै पछाडि छ, दुःखमा छ, पीडामा छ । हो, अहिले यो ठाउँले पनि फड्को मार्न खोजेको छ । तर, मैले मेरो ठाउँको हिजोको कथा लेखेको हुँ जतिवेला यहाँ उज्यालो थिएन । अब पनि म यहाँका विविध पक्षमा कलम चलाउने नै छु ।

सिर्जनामा समयलाई लेख्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले पनि सधैँ यही प्रयास गरिरहेको छु । अब पनि म यहाँको नलेखिएको पाटो लेख्न लाग्नेछु ।

तपाईं सुदूरपश्चिमको भएकाले तपाईसँग विषय त त्यहाँका छन् नै । तपार्इं लेखनचाहिँ कसरी गर्नुहुन्छ रु कुनै निश्चित नियम पो बनाउनुभएको छ कि ?
सम्भवतः कुनै पनि लेखकले निश्चित नियम बनाएर लेख्दैन । मसँग पनि लेख्नका लागि त्यस्तो कुनै नियम छैन । जतिवेला मनमा भावना आउँछ, म लेख्न बस्छु । कहिलेकाही लेखिहाल्न मिल्दैन । त्यस्तो समयमा म टिपोट गर्छु । मनस्थिति सामान्य भएपछि लेख्न थाल्छु । मैले लेख्नकै लागि टाइमटेबल बनाएको छैन, तर फुर्सदमा म खाली पनि बसिरहेको हुन्न । केही न केही लेखिरहेको हुन्छु ।

ऐनाका कथाहरू पनि मैले फुर्सदको समयलाई सदुपयोग गरेर लेखेको हुँ । छोरी जन्मिएको १० वर्षपछि, दुई वर्षअघि मेरो छोरा जन्मियो । घरमा अरू कोही नभएकाले उसको हेरचाह गर्ने जिम्मेवारी मेरै काँधमा आयो । त्यसैले मैले यहाँ हुने साहित्यिक कार्यक्रममा खासै सहभागिता जनाउन सकिनँ । अनि घरमा फुर्सदिलो हुँदा ती कथा लेखेँ । फुर्सदले नै मलाई लेखायो । कहिले बिहान लेखेँ, कहिले साँझमा लेखेँ ।

नेपाली साहित्यमा सुदूरपश्चिमको समाज त अहिले पनि उति लेखिएको छैन । तपाईं त त्यहाँको साहित्यिक माहोलमा सक्रिय हुनुहुन्छ । समस्त नेपालको साहित्यबारेचाहिँ सुदूरपश्चिमको धारणा के छ ?
मलाई लाग्छ, नेपाली साहित्यको पछिल्लो अवस्था सन्तोषजनक छ । कृति निकाल्न सहज भएको छ, प्रकाशकहरू नयाँ लेखक खोजिरहेका छन् । अब पहिलेको जस्तो अवस्था छैन, लेखकले आफ्नो बजार बनाउन थालिसकेका छन् । साहित्य आफ्नै बजार बनाउन सफल भएको छ ।

तर, हाम्रो समाजका कतिपय कथाहरूचाहिँ अझै पनि लेखिएका छैनन् । आजको समाजका विविध पाटा मात्र होइन, हिजोका कुरा पनि अझै उत्खनन हुन बाँकी छन् । अहिलेको समाजमा त्यस्ता धेरै ‘भर्जिन’ विषय छन्, जुन खोतल्नै पर्ने छन् । सेतो धरती, ऐनाजस्ता पुस्तकमा केही कथा आएका छन् । तर, अझ अनुसन्धानमूलक कार्यक्रम हुन जरुरी छ । पाठकका लागि अझै लेख्नुपर्ने विषय धेरै छन् । सुदूरपश्चिमको साहित्यले नेपाली साहित्यमा अहिले पनि आफ्नो कथा खोजिरहेको छ, यसमा लेखन पनि अब बढ्नेछ भन्ने हामीले आशा गर्न सक्छौँ ।

त्यसो त यसअघि मोफसलमै बसेर लेखिरहेका सरुभक्त, कृष्ण धरावासीलगायतले पनि मदन पुरस्कार पाए । अब तपाईं पनि यही सूचीमा थपिनुभएको छ । लेखनमा मोफसल र राजधानीको विभेद छ भन्नेहरूलाई यो राम्रो जवाफ भयो नि होइन र ?
हो, हामीले पनि पहिलेदेखि नै भन्दै आएका थियौँ– मोफसललाई राजधानीले हेप्छ । यो कुरा सही पनि हो । जति सहजै काठमाडौंको सर्जकले पत्रपत्रिकामा स्थान पाउँछ, त्यति सहज मोफसलको एउटा सर्जकलाई छैन । तर, यसको अर्थ मोफसलको सिर्जनालाई पनि बेवास्ता गरिन्छ भन्ने होइन रहेछ ।

हिजोसम्म म पनि भ्रममा थिएँ– काठमाडौंले मोफसलको एउटा सर्जकलाई त्यति सहज प्रवेश गराउँदैन । मलाई ऐना कथासंग्रहले काठमाडौंमा ‘वेलकम’ नपाउला भन्ने चिन्ता पनि लागेको थियो । तर, म भ्रममा मात्र रहेछु । त्यस्तो होइन रहेछ ।

एउटा लेखकले राम्रो लेख्न सक्दा उसले राम्रै स्थान पाउँदो रहेछ । पाठकको मनोविज्ञान र समाजको चरित्रलाई लेखनमा उतार्न सक्ने हो भने लेखक कहाँको हो भन्ने कुरा गौण रहेछ । मुख्य कुरा त सिर्जना नै हो रहेछ । अहिलेका स्रष्टालाई अब पठन तथा साहित्यिक समाजले मोफसल र राजधानीको भन्दैन, उसको सिर्जनालाई हेर्दो रहेछ ।

हो, राजनीतिमा अहिले पनि सुदूरपश्चिमलाई हेपिन्छ होला, अन्य विभिन्न क्षेत्रमा मोफसलको भनेर हेयको भावना राखिन्छ होला  । तर, साहित्यमा अहिलेसम्म यस्तो प्रभाव रहेनछ । यसले नै मोफसलका स्रष्टाहरूलाई ‘इनर्जी’ मिलिरहेको हुनुपर्छ । साहित्यमा मोफसल भन्ने हुँदो रहेनछ ।

तपाईंका कथाका कन्टेन्ट मात्र होइन, लेखनशैलीको पनि प्रशंसा भएको छ । लेख्न चाहनेहरूलाई तपाईं के टिप्स दिनुहुन्छ ?
ऐनाका कथाहरू मेरा प्रयास हुन् । तर, केचाहिँ सत्य हो भने मैले यी कथामा सकेको प्रयास गरेको छु । मैले न यो चर्चाको अपेक्षा गरेको थिएँ, न पुरस्कारको आशा गरेर ती कथा लेखेको थिएँ । मैले त मेरो समाजको कथा सुनाउनै पर्छ भनेर लेखेको हुँ । जो लेख्न चाहनुहुन्छ, उहाँहरूले कुनै आशा नगरी समाजका भन्नै पर्ने कथाहरू लेख्दा सफलता मिल्छ भन्ने मेरो सल्लाह हुन्छ ।

ऐना कथासंग्रह बजारमा आएपछि तपाईंका फ्यान फलोइङ पनि बढेका छन् । अब पाठकहरूका लागि तपाईंको के आउँदै छ ?
मैले तुरुन्तै यही कुरा लेख्छु योजना बनाइसकेको छैन । तर, म आफूलाई समाजबाट टाढा राख्न सक्दिनँ, समाजकै कुरा लेख्नेछु । मैले अब पनि आख्यानमै कलम चलाउनेछु । त्यसैले अब मेरो उपन्यास आउँछ होला भन्ने मेरो प्रारम्भिक सोच हो । म यसलाई सक्दो छिटो ल्याउने प्रयास गर्नेछु । पाठकहरूको जुन माया पाएको छु, त्यसलाई रेस्पेक्ट गर्नु मेरो जिम्मेवारी हो । त्यसैले पनि म लेखिरहनेछु ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*