संझनामा इतिहासको त्यो कालो दिन २०७२ बैशाख १२

२०७२ वैशाख १२ गते । शनिबार विदाको दिन । बिदाको दिन नेपालीहरु मनोरञ्जन, सरसफाई, भेटघाटमा ब्यस्त हुन्छन । किसान, मजदुर जस्ता काम गरिखानेहरुको लागि त सातै दिन बाह्रै महिना आफ्नो काम नगरि नहुने ।त्यसै दिन बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले धेरै नेपालीको मन र मुटु थरथरायो । यतिमात्र भएन वैशाख १२ र २९ गते गएको भूकम्पमा साढे आठ हजारभन्दा बढीको एउटै चिहान भयो । धेरैको जीवन र सपना उडायो । घाँस काट्दा काट्दैका किसान, गाई चराउँदा चराउँदैका गोठाला, भेटघाटमा ब्यस्त आफन्त, विदामा रमाईलो गर्दा गर्दैका परिवार,साथिभाई, आफन्त र जोडिहरु, हाँस्दा हाँस्दै खेल्दा खेल्दै कोहि मरे, कोहि अपाङ्ग हुन पुगे भने कति भागभाग गरेर बल्ल बाँचे । इतिहासको कालो र क्रुर  त्यस दिनको आज ठीक एक बर्ष भएको छ ।

barpak

दुनियाको रहर गुमेको त्यो दिन बारपाक बजार भन्दा केहि तल । राङडुङ खोला इपिसेन्टर पारेर भूकम्प आउँदा यी दुवैको बीचमा पर्ने राङडुङ गाउँकी बिजया घले भर्खर तयार भएको घर प्रवेश गर्ने तयारी गर्दै थिइन । दिउँसो ठीक ११ बजेर ५६ मिनेट जाँदा भूकम्प गयो । जीवनमा पहिलो पटक दुख जिलो गरेर बनाएको घर एकै छिनमा गरल्याम गुरलुम ढल्यो । ‘बिहे गरेको सालै बुढो बिदेश गयो, उसैले पठाएको चारलाखले घर बनाएको थिएँ त्रिपालमुनी बसिरहेकी घलेले आँशु पुछ्दै भनिन्, ‘बिदेशमा खाई नखाई कमाएको पैसाले बनाएको घर ढल्यो, बुढो पनि घर आयो अर्को घर बनाउने पैसा पनि छैन ।’ उनले बैशाष १२ लाई जीवनको ठूलो रहर गुमेको दिनको रुपमा लिन्छिन ।

सिन्धुपाल्चोक बाराम्चाका हरि नेपालीको सन्तानको नाममा एउटा मात्र छोरो थियो । त्यहि छोरो भूकम्पमा परि गुम्यो । बुढेसकालमा जीवनको ठूलो रहर गुमेको उनी कहिल्यै भुल्नेवाला छैनन् । ‘जीवनको रहर भने पनि सपना भने पनि त्यहि एउटा छोरो थियो त्यो पनि त्यहि भूकम्पमा गयो उनले भने,‘बुढेसकालको सहारा म जाने बेला त्यो गयो हाम्रालागि सर्वस्व गुम्यो ।’

Dharahara

हरि र बिजया मात्र हैन बैशाष १२ र २९ का ठूलाठूला भूकम्प अनि त्यसपछि आएका साना साना पराकम्पनले नेपालमा धेरै धनजनको क्षति ग¥यो । सरकारले गुमेका मानिस फिर्ता गर्न त सक्दैन तर उनीहरको घाउमा मलम लगाउने न कुनै देखिने गरि सानो काम गरेको छ न त उनीहरुलाई बस्नका लागि सानो झुपडि बनाउन सहयोग गरेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आकलन प्रतिवेदन अनुसार एक वर्षअगाडि गएको भूकम्प र त्यसपछिका पराकम्पले घर भत्काउँदा आठ हजार सात सय ९० जनाको ज्यान गएको छ भने २२ हजार तीन सय जना मानिस घाइते भएका छन ।

झरीमा भिज्दै कठ्याङग्रिदै बित्यो एक बर्ष
सरकारले गएको भदौ दोस्रो साता भूकम्पमा बास गुमाएका परिवारलाई लक्षित गर्दै १७ थरी सुरक्षित घरका प्रस्तावित नमुना सार्वजनिक ग¥यो । भूकम्प पीडित यसैको आशमा बसे तर कठाङग्रीदो जाडो पनि गयो, बर्षे झरी पनि गयो तर सरकारले न घर बनाइदियो न आफै बनाउन दियो । उनीहरुको बर्षा पनि त्रिपालमुनी भिज्दै गयो भने कठाङग्रीदै चीसो हिउँद पनि कटाए ।
पीडितहरु भन्छन,‘आफै घर बनाउँ भने सरकारले अनुदान दिन्न भन्छन सरकारले आफै पनि बनाइदिदैन ।’ बर्षामा बुढाबुढी र बालबच्चाको बिचल्लि भयो आफु सानो बिरामी हुँदा विदेशका महंगा अस्पताल धाउने नेता र मन्त्रीहरुले ति अनाथ नेपालीको पीडा एक सिन्को पनि बुझेनन् बरु उनीहरु सरकार, मन्त्री र प्राधिकरणको प्रमुख को हुने भनेर मात्र लडे । सरकारले पीडितलाई दुईलाख दिने घोषणा गरे पनि हालसम्म पहिलो पटक १५ हजार र पछि १० हजारमात्र दिएको छ । भूकम्प केन्द्रबिन्दु बारपाकमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अहिलेका प्रधानमन्त्री केपी ओली, धेरै पूर्व र बर्तमान मन्त्री पुगे तर, सरकारले दिने घोषणा गरेको राहत भने अझै पुगेन । सुरक्षित भवन कागजमै सिमित भूकम्प लगत्तै सरकारले घरबारविहीन बनेका ६ लाख परिवारलाई सुरक्षित घर बनाइदिने, असुरक्षित बस्ति सार्ने घोषणा ग¥यो तर सबै कागजमै सिमित रह्यो । सरकारले कागजमा बनाएको नमुना घरका चित्र वालवालिकाले कागजमा बनाएको घरको सपनाको घर मात्रै बन्यो । सरकारले आश देखाएर सोझा, पीडित नागरिकलाई बर्षातको झरी, हिउँदो चिसो र चैतबैशाखको गर्मीमा ततायो । सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक रमेश सिंहले पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइका कारण जनताका घरसँगै सामूहिक आवासगृहका काम समेत अघि बढ्न नसकेको जानकारी दिए । ती घर २ लाख ८६ हजारदेखि ३३ लाख रुपैयाँ लागतसम्ममा तयार हुने उल्लेख थियो । तर, सरकारले घर त परै जाओस, पीडितलाई आवास अनुदानबापत दिने भनिएको दुई लाख रुपैयाँसम्म दिन सकेको छैन ।

भूकम्प लगत्तै सरकारले  घर बनाउन राहत दिने, सामूहिक आवास गृह बनाउने भनेर आश्वासन बाँड्यो । सरकारले आश्वासन बाँड्यो तर काम गरेन जसका कारण पहाडि तथा हिमाली क्षेत्रका भूकम्पपीडित त्रिपाल र टहरामुनि कठ्यांग्रिएर बसिरहे । मंसिर १० गतेको मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ ले विशेष परिस्थितिमा छुट्टै प्रक्रिया अवलम्बन गरी निर्माण कार्य गर्न सक्ने व्यवस्थाअनुसार सामूहिक आवास निर्माण कार्य अघि बढाउन स्वीकृति दिएको थियो । ती भवनको पनि डिजाइन बनाउने बाहेक अरू केहि भएन । एउटामा १६ परिवार बस्न मिल्ने ५० वटा सामूहिक आवास भवन निर्माण गर्ने सरकारी लक्ष्य थियो ।सरकारले बलियो सामग्री, दक्ष मिस्त्रि, सुरक्षित स्थान खोजीरहेको छ नागरिकको पीडा भने बुझिरहेको छैन । गाउँमै राम्रा समग्री, काम गरिरहेका र थोरै तालिमले दक्ष हुनसक्ने मिस्त्रि, खतार गाउँठाउँकै आसपासमा सुरक्षित स्थान भएको स्थानीयहरुको भनाई छ ।

सरकार अभिभावक बन
जव एउटा मानिस जन्मन्छ त्यसको अभिभावक भनेको सरकार नै हो । सरकारले दुखमा साथ र बपित्तिमा हात देला भन्ने नागरिकको चाहना हुन्छ । भूकम्पका बेला रहेको सरकार वा अहिलेको बहालवाला सरकार कशैले पनि पुर्ननिर्माणमा तिब्रताका साथ लागेको नेपालीले महशुस गर्न सकेका छैनन् । जब नागरिकले सरकार प्रतिको विश्वास गुमाउँछन त्यस देशको अस्तित्व रहन पनि गाह्रो हुन्छ तसर्थ बर्तमान सरकार अभिभावक बनेर तुरुन्त हरेक दुखी नागरिकको दुखेको घाउमा मलम लगाउने, घाइतलाई हाडभरोसा दिने र पुर्ननिर्माणमा तिब्रताका साथ लाग्नुपर्छ ।

PERU-PARURO-EARTHQUAKE

इन्द्रेणी परिवार गत वर्ष बैशाख १२ को त्यो दुखद कालो दिनलाई सम्झदै यसलाई अनुभवको रुपमा लिन हरेक नागरिकलाई अपिल गर्छ । दिवांगतहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना र पीडितहरुको साथमा सधै सक्दो हातमा हात मिलाउने प्रतिबद्धता जनाउँछ । सरकारलाई मृतकहरुका परिवारलाई राहत, घाइतको उपचार, मनमा पीडाभएकाहरुलाई मलहम लगाउँदै पालमुनी बसिरहेका नागरिकहरुको आबास निर्माण, असुरक्षित बस्ति पुर्नस्थापना लगाएत सम्पूर्ण पुर्ननिर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गर्न नेपाल सरकार संग जोडदार माग गर्दछ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*